७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कृष्णनगर प्रहरीद्वारा ५० हजार बराबरको विस्फोटक पदार्थ नष्ट



सीताराम चौधरी कृष्णनगर १० कार्तिक ।

चाडपर्वका बेला कृष्णनगर आसपासका क्षेत्रबाट विभिन्न समयमा बरामद गरिएको प्रज्वलनशील विष्फोटक पदार्थ एक कार्यक्रमका बीच कृष्णनगर प्रहरीले नष्ट गरेको छ ।

भारतबाट नेपालतर्फ लुकाईछिपाई गरी ल्याउँदै गरेका झण्डै पचास हजार रकम बराबरको पटाकाजन्य विष्फोटक पदार्थ इलाका प्रहरी कार्यालय कृष्णनगरले लालकोठी कम्पाउण्ड अगाडिको पोखरीमा खाल्डो खनी नष्ट गरेको हो ।

दीपावलीको मौका छोपी अबैध सामानका साथै विस्फोटक पदार्थ नेपाल भित्रिन सक्ने भन्दै विशेष चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय कृष्णनगरको गस्ती टोलीले विभिन्न समयमा सो परिमाणको विष्फोटक पदार्थ बरामद गरिएको प्रहरी निरीक्षक सुभाष गैरेले जानकारी दिनुभयो । पटाका लगायत प्रज्वलनशील पदार्थहरु विक्री वितरण र ओसारपसारमा रोक लगाइएको भएपनि भारतबाट अबैध रुपमा भन्सार छली विस्फोटक पदार्थ नेपाल भित्रिएको गैरेले बताउनुभयो । गैरेका अनुसार दीपावलीको अवसरमा यसअघि पनि कृष्णनगर नाकाबाट अबैध रुपमा भित्रिएका दुई लाख बढीको पटाकाजन्य विस्फोटक पदार्थ नष्ट गरिएको थियो ।

सीमाक्षेत्रमा हुने अबैध चोरी निकासी रोकथामका लागि खटिएका प्रहरी टोलीले कृष्णनगर आसपासका विभिन्न क्षेत्रबाट विभिन्न समयमा चेकजाँचका क्रममा आतसबाजी, झिरझिरे, पटाका, भुइँचम्पा लगायतका प्रज्वलनशील विस्फोटक पदार्थ (पटाका) बरामद गरिएको प्रहरी निरीक्षक गैरेले जनाउनुभयो ।

दीपावली सकिए लगत्तै बरामद गरिएको पटाका स्थानीय पत्रकार, बिभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाका कर्मचारी र कृष्णनगर नगरपालिकाका कर्मचारी समेतको रोहबरमा नष्ट गरिएको प्रहरी निरीक्षक गैरेले बताउनुभयो ।

प्रकाशित मिति : १० कार्तिक २०७४ शुक्रबार ००:००  १ : ४० बजे