८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सामाजिक अभियानमा जुट्दै रोटरी मिड टाउन



मायादेवी अनलाइन, कपिलवस्तु, ११ कार्तिक ।
सामाजिक अभियानमा क्रियाशील रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनले आफ्नो पहिलो बार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बाणगंगा क्षेत्रमा आफ्नो सक्रियता देखाउदै आएको रोटरीले बार्षिक उत्सवको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई ८ थान ह्वीलचियर वितरण गरेको छ । झण्डै रु ८० हजार बराबरको ह्लिचियर रोटरीका सदस्यहरुले वितरण गरेका हुन । यस्तै क्यान्सरबाट लामो समय देखि पिडित बनेकी वाणगंगा ४ कि कमला पौडेललाई रु २५ हजार बराबरको आर्थिक सहयोग गरिएको छ ।
जिल्लाको वाणगंगा २ पिपरामा अवस्थित हिल्वर्ट बोडिङ स्कुलको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल भुटानको डिष्ट्रिक गर्भनर एलेक्ट चिन्तामणी भट्टराईले रोटरी क्लबले संसारभर पोलियो उन्मूलनमा महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो । रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनले वाणगंगाको डुँगहवामा रहेको शान्ति नि.मा.वि.मा नमुना स्कुल बनाउने प्रस्तावलाई रोटरी क्लबको केन्द्रिय टीमले सकारात्मक लिएको उद्घोष गर्नुभयो । कपिलवस्तु मिड टाउनले जिल्लामा छोटो समयमा उत्कृष्ट काम गरेको भन्दै आगामी दिनमा स्वास्थ्य र शिक्षामा उल्लेख्य काम गरेर देखाउन सुझाव दिनुभयो ।
कपिलवस्तु मिड टाउनका प्रेसिडेण्ट इलेक्ट बाबुदेव घिमिरेले रोटरीले गरेको कामको बारेमा जानकारी दिनुभएको थियो । क्लब एक बर्ष भित्र अनाथ बालबालिकालाई पोशाक, बृद्धबृद्धालाई टर्च लाइट, बाढीपिडितलाई राहत लगायतको वितरण गरेको जानकारी दिनुभयो । यस्तै सिप विकास तालिम केन्द्र बुटवलको सहकार्यमा ५० दिने व्यूटीपार्लर तालिम आयोजना गरि स्वरोजगार बनाउने काम गरेको प्रष्टाउनुभयो । क्लबका महासचिव माधवभाट क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रममा प्रजिअ अधिकारी मदन भुजेल, वाणगंगानगरपालिकाका मेयर मंगल प्रसाद थारु, सहायक प्रजिअ रामेश्वर अर्याल, प्रहरी उपरिक्षक भोजजंग शाह, सशस्त्र प्रहरी उपरिक्षक भगवान मल्ल लगायत रोटरीका छिमेकी जिल्लाबाट पनि सहभागीता रहेको थियो ।
उक्त अवसरमा होराइजन उमावि र हिल्वर्ट इङ्ग्लिस बोर्डिङ स्कुलका विद्यार्थीले नृत्य देखाएका थिए । आजभन्दा एक बर्ष अगाडी जिल्लाको जीतपुर चारनम्बरमा स्थापना गरिएको रोटरी क्लबले जिल्लाको सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ । क्लबमा यस क्षेत्रका करिब ५० जना सामाजिक व्यक्तित्वको संलग्नता रहको छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७४ शनिबार ००:००  १ : ५१ बजे