१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तुमा खसी चोर पक्राउ



सीताराम चौधरी चन्द्रौटा(कपिलवस्तु), १२ कार्तिक ।

कपिलवस्तुको चन्द्रौटामा खसी चोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका ९, इमिलिया बस्ने श्याम जैसवाल रहेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाको गस्ती टोलीले शनिबार विहान पौने ४ बजेको समयमा शिवराज नगरपालिका ५, खैरीस्थित महेन्द्र राजमार्गबाट नियन्त्रणमा लिएको हो ।

एकाबिहानै खसी लिएर गाडीको प्रतिक्षा गर्दै सडक छेउ उभिएका जैसवाललाई सोधपुछ गर्दा पूजाको लागि इमिलिया लैजान लागेको जवाफ दिएको प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

तर जैसवालको कपडा र सँगै डो¥याएको खसी समेत शीतले भिजेका कारण शंकास्पद मानी नियन्त्रणमा लिएको भट्टराईले बताउनुभयो । वडा प्रहरी कार्यालयमा ल्याई सोधपुछ गर्दा बाटामा भेटाएर ल्याएको बयान दिएको उहाँको भनाई छ ।

खसीसहित प्रहरीले नियन्त्रणमा लिएको जैसवाललाई वडा प्रहरी कार्यालयमा राखी अनुसन्धान कार्य अघि बढाइएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो ।

खसी कसको हो अहिलेसम्म कोही पनि सम्पर्कमा नआएको प्रहरी निरीक्षक भट्टराईले जनाउनुभयो । खसी हराएका व्यक्तिले वडा प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले सूचना जारी गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७४ आइतबार ००:००  ६ : ४६ बजे