७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

सत्यवती मेलाको तयारी पूरा



कपिल ज्ञवाली बुटवल, १३ कात्तिक ।
पाल्पाको तिनाउ गाउँपालिकामा वर्षे्नि लाग्दै आएको सत्यवती मेलाको तयारी पूरा भएको छ । स्थानीय सत्यवती तालमा कात्तिक १६ गतेदेखि १८ गतेसम्म मेला सञ्चालन हुनेछ ।
मन्दिरमा रहेकी सत्यवती बजले कान नसुन्ने भएकाले उनीसँग चिच्चाएर बरदान माग्ने चलन रहेको छ । यो मेला रातिको समयमा लाग्ने गर्छ ।
मेलामा पाल्पा, गुल्मी, अर्घाखाची, कपिलबस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत, बाग्लुङ, म्याग्दीका साथै भारतको गोरखपुर, लखनउ लगायतका क्षेत्रबाट भक्तजनको ओइरो नै लाग्ने गरेको छ ।
सत्यवती ताल संरक्षण तथा विकास समितिका अध्यक्ष सुनविर गाहका अनुसार परम्परागत रुपमा लाग्दै आएको यो मेलामा सत्यवती मन्दिरको किनारमा रहेको ताल वरिपरि घुम्दै चिच्चाएर बरदान माग्ने गर्छन् ।
अघिल्ला वर्षहरुमा ५० हजार बढी भक्तजन मेलामा सहभागी भएको तथ्याङ्क रहेको छ । यस वर्ष भने ६० हजार भक्तजनले दर्शन गर्ने गरी व्यवस्थापन मिलाइएको तिनाउ गाउँपालिकाका वडा नं. ४ का वडा अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो ।
गत बर्ष भक्तजनको भेटी सङ्कलनबाट करिब ८ लाख रुपैयाँ सङ्कलन भएको थियो । मन्दिरमा चढाइएको भेटीबाट सङ्कलन भएको रकमले मन्दिर व्यवस्थापन, तालको सरसफाई, खानेपानी व्यवस्थापन, विद्युतीकरण, बाटो सरसफाई लगायतका कार्य गरिने बताइएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७४ सोमबार ००:००  १ : ४२ बजे