३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

ई–रिक्सा, टेम्पो चालकको रोजगार खतरामा !



चन्द्रौटा, १२ कार्तिक ।
कपिलवस्तुमा अब ई–रिक्सा र अटो रिक्सा (टेम्पो) को लागि ट्राफिक प्रहरीले कडा नियम ल्याएको छ । मुख्य सडकखण्डमा चलाउन नपाइने ब्यवस्था हुँदाहुँदै पनि कतिपय ब्यवहारिक समस्या तथा प्रहरीको आँखा छलेर यी सवारी चलाउँदै आएको ट्राफिकले बताएको छ ।

केन्द्रिय विभागको कडा निर्देशन अनुसार अब भने पूर्ण रुपमा निषेध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुका ट्राफिक प्रहरी निरीक्षक अमर बहादुर कार्कीले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न क्षेत्रका ई–रिक्सा र अटोरिक्सा समितिका पदाधिकारीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेको सभाहलमा भेला गरी कार्यालय प्रमुख प्रहरी निरीक्षक अमरबहादुर कार्कीले राजमार्ग तथा सदरमुकाम जाने मुख्य सडकखण्ड प्रयोग नगर्नुपर्ने कारण स्पष्ट पार्नुभयो ।
उहाँले ट्राफिक नियमलाई अटेर गरे प्रचलित कानुन नियमानुसारको कारबाही गरिने समेत चेतावनी दिनुभयो । भेलामा सहजीकरण गर्दै प्रहरी निरीक्षक कार्कीले सवारी धनि तथा चालकहरुले सवारी चलाउँदा ट्राफिक नियमको पालना गर्दै दुर्घटना न्यूनीकरणमा सहयोग गर्न अनुरोध गर्नुभयो ।

भेलामा सहभागी ई–रिक्सा तथा अटोरिक्सा समितिका पदाधिकारी एवं व्यवसायीले राजमार्ग तथा मुख्य सडकखण्डमा ई—रिक्सा तथा टेम्पो चलाउन नपाउने ब्यवस्था आफ्नो लागि पीडादायी र मार्मिक रहेको गुनासो गरे । आफ्नो क्षेत्रमा मुख्य सडकखण्ड नै व्यवसायको मुख्य आधार रहेको बताउँदै उनीहरुले परिस्थितिजन्य अवस्थामा ट्राफिकलाई व्यवहारिक भइदिन अनुरोध गरे ।

व्यवसायीहरुले राज्यद्वारा निर्देशित नियम कानूनको सम्मान गर्दै पालना गर्नेतर्फ सजग रही ट्राफिक प्रहरीको कामकारवाहीमा सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

कार्यक्रममा शिवगढी ई–रिक्सा समिति, शिवराज अटोरिक्सा समिति, बाणगंगा अटोरिक्सा समिति, न्यू लुम्बिनी ई–रिक्सा समिति पदाधिकारीहरु, बुद्धभूमि नगरपालिका क्षेत्रभित्र सञ्चालित ई–रिक्सा तथा टेम्पो ब्यवसायी तथा चालकसहित ५५ जनाको उपस्थिति रहेको ट्राफिकले जनाएको छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७४ सोमबार ००:००  १ : ५५ बजे