६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

कालीगण्डकीमा भक्तजनको घुइँचो



फलेवास, पर्वत, १४ कात्तिक (रासस) ।
आज हरिबोधनी एकादशी । पर्वतका विभिन्न धार्मिकस्थलमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
पवित्र कालीगण्डकी नदीमा स्नान गर्न हजारौँको संख्यामा भक्तजनको भीड लागेको हो । मोदीखोला र कालीगण्डकी नदीको संगममा पर्ने पर्वतको मोदीवेणी धाम, जैमिनी घाट, एशियाकै ठूलो शालिग्राम शिला रहेको दक्षिण पर्वतको शालिग्रामस्थित सेतीवेणीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।

स्नान गर्नका लागि पर्वतका साथै बागलुङ, स्याङ्जा, गुल्मी, पाल्पा र भैरहवाबाट ठूलो संख्यामा श्रद्धालु भक्तजन आएका छन् । उक्त स्थानमा मेलासमेत लागेको छ ।

कालीगण्डकीमा स्नान गरी भगवान् विष्णुको अवतार मानिने शालिग्रामको पूजा गरेमा पुण्य प्राप्त हुने विश्वासमा भक्तजन निराहार व्रत बसी स्नान गर्ने चलन छ ।

हरिशयनी एकादशीदेखि चौमास व्रत बसेकाहरुले पनि आज कालीगण्डकी नदीका विभिन्न स्थानमा तोरण टाँग्ने प्रचलन रहेको छ । कालीगण्डकीमा तोरण टाँग्नका लागि विभिन्न जिल्लाबाट बाजागाजा र भजनकीर्तनसहित हजारौँ दर्शनार्थीको भीड लागेको मोदीवेणीधाम व्यवस्थापन समितिका सदस्य युवनाथ रेग्मीले जानकारी दिनुभयो ।

यसैबीच, पर्वतको सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी दिव्यधाममा आज विशेष मेला लागेको छ । दिव्यधाममा रहेका १०८ तुलसीको विवाह गर्ने कालीगण्डकीको जलाभिषेक गर्ने कार्यक्रम रहेको दिव्यधाम व्यवस्थापन समितिका अध्यक्ष गोपालदाश बैरागीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ कार्तिक २०७४ मंगलबार ००:००  ४ : ०८ बजे