१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

बामपंथी गठबन्धन र कांग्रेसले प्रतिनिधिसभामा उम्मेदवार टुङ्गाए



दीपा महत, कपिलवस्तु, १४ कार्तिक ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभाको लागि कपिलवस्तुमा बाम गठबन्धन र कांग्रेसले उम्मेद्वारको टुङ्गो लगाएका छन । लामो रस्काकस्सी पछि दलहरुले उम्मेद्वारको टुङ्गो लगाएका हुन । जिल्लाबाट सर्वसम्मत रुपमा नामावली छनोट गर्न नसकेका दलहरुले केन्द्रीय स्तरबाट उम्मेद्वार छनोट गर्न सफल भएका छन । उम्मेद्वार बन्न नेताहरु हप्ता दिन देखि काठमाण्डौ मै बास बसेका थिए । केन्द्रिय नेताहरुले नामावली टुङ्गो लगाए पछि नेताहरु जिल्ला फर्कन थालेका छन । यद्यपि उम्मेद्वार बन्न नपाएका केहि नेताहरु भने निरास बनेका छन ।
तीन प्रतिनिधिसभा रहेको जिल्लामा बामपंथी गठबन्धन र कांग्रेस विच तिव्र प्रतिस्पर्धा हुने देखिएको छ । देशभर नै चुनावी तालमेल गरेका बामपंथी दलहरुले प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा चन्द्रप्रकाश खनाल बलदेवलाई उम्मेद्वार बनाएको छ । बलदेव बामपंथी दलबाट साझा उम्मेद्वार बन्नुभएको हो ।
यस्तै क्षेत्र नम्बर २ मा बृजेश कुमार गुप्ता र क्षेत्र नम्बर ३ बाट इश्वर दयाल मिश्र उम्मेद्वार बन्नुभएको छ । उहाँहरु दुवै जना नेकपा एमालेको सूर्य चिह्न लिएर निर्वाचन लड्दै हुनुहुन्छ । उहाँहरुलाई बामपंथी गठबन्धनले सहयोग गर्नेछ ।
यस्तै नेपाली कांग्रेस कपिलवस्तुले पनि प्रतिनिधीसभा सदस्यको उम्मेद्वार छनोट गरेको छ । कांग्रेसबाट जिल्लाको क्षेत्र नं. १ बाट भारतका लागि पूर्वराजदुत दिपकुमार उपाध्याय, क्षेत्र नं. २ बाट निर्वतमान सांसद सुरेन्द्रराज आचार्य र क्षेत्र नं. ३ बाट निर्वतमान सांसद अभिषेक प्रताप शाह उम्मेदवार बन्ने निर्णय भएको नेपाली कांग्रेसका जिल्ला सदस्य प्रकाश घिमिरेले बताउनुभयो ।

क्षेत्र नं. १ मा निर्वतमान सांसद अतहर कमालको आफू उम्मेदवार हुने दाबी रहे पनि पार्टी उच्च तहले निर्वतमान सांसद कमाललाई प्रतिनिधिसभा सदस्य पदमा समानुपातिकतर्फ समावेश गराएको छ । निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार निर्वतमान सांसद अभिषेक प्रताप शाह संघीय समाजवादी फोरम परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो ।

गत असारमा सकिएको स्थानीय तहमा एक्ला एक्लै चुनाव लडेका दलहरु प्रतिनिधि तथा प्रदेशसभा सम्म आइपुग्दा चुनावी तालमेल गरेका छन । विगतमा मधेसी दलको वर्चश्व रहेको जिल्लामा अहिले उनिहरुको अतित्व संकटमा परेको छ ।

जिल्लाबाट मधेसी दलको केन्द्रिय स्तरमा पहुँच राख्ने नेताहरु ठुला पार्टी एमाले कांग्रेस, माओबादी केन्द्रमा प्रवेश गरेर चुनाव लड्न थाले पछि मधेसी दलहरुको औचित्य सकिएको हो । यद्यपि आगामी चुनावमा मधेसबादी दलले उम्मेद्वार भने उठाउने भएका छन ।

प्रकाशित मिति : १४ कार्तिक २०७४ मंगलबार ००:००  १२ : २७ बजे