१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

दश हजार बढी नयाँ मतदाता थपिए



रोल्पा, १५ कात्तिक (रासस) ।
मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेशसभामा रोल्पा जिल्लाबाट १० हजार ८९४ नयाँ मतदाताले मतदान गर्ने भएका छन् ।
स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख १७ हजार २६१ मतदाता रहेकामा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थप नयाँ मतदातासहित एक लाख २७ हजार ६२९ मतदाताले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा पुरुष मतदाताको तुलनामा महिला मतदाता बढी देखिएका छन् । स्थानीय तह निर्वाचनमा पुरुष मतदाता भन्दा तीन हजार ६८९ महिला मतदाता बढी थिए । प्रतिनिधिसभा र प्रदेशसभामा पुरुष भन्दा दुई हजार १८६ बढी महिला मतदाताले मतदान गर्ने भएका छन् । जिल्लामा ६४ हजार ९०७ महिला र ६२ हजार ७२१ पुरुष मतदाता छन् । तेस्रो लिंगी मतदाता भने हालसम्म एकजना पनि देखिएको छैन ।
नयाँ मतदाता थपिएसँगै जिल्लामा ६ वटा मतदान केन्द्रसमेत थप भएको छ । स्थानीय तह निर्वाचनमा १५४ मतदान केन्द्र रहेको रोल्पामा मंसिर १० गते हुने निर्वाचनका लागि १६० मतदान केन्द्र र ८० मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ कार्तिक २०७४ बुधबार ००:००  २ : ३१ बजे