१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेता दीपकुमारविरुद्ध चर्चित नेता सेनको उम्मेदवारी



मायादेवी अनलाइन, कपिलवस्तु, १७ कार्तिक ।
कपिलवस्तुमा भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायविरुद्ध कांग्रेसबाटै बागी उम्मेदवारी परेको छ । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा दीपकुमारविरुद्ध कांग्रेसकै स्थानीय नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
पूर्वराजदूत तथा कपिलवस्तु–१ बाट यसअघि २ पटक निर्वाचन लडेका दीपकुमार पुनः उम्मेदवार बनेपछि पार्टीकै स्थानीय नेता तथा समाजसेवी दुर्गाबहादुर सेनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
उनी नेपाली काग्रेसको वडास्तरदेखि राजनीति गर्दै महासमिति सदस्यसम्म पुगिसकेका छन् । त्यस्तै पार्टीले टिकट नदिएर अन्याय गरेको भन्दै कांग्रेसका पुराना नेता राजुप्रसाद अर्यालले प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधि सभा २ मा नेपाली काग्रेसका पार्टी सभापतिविरुद्ध नेपाली कांग्रेसकै लोकप्रिय युवा नेता लोकेन्द्रध्वज खाँणले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनको नाम मनोनयन दर्ता गर्ने विहानसम्म टिकट पाउने लिस्टमा रहे पनि अन्तिममा काटिएको थियो ।
त्यस्तै नेपाली कांग्रेसमा प्रवेश गरेर टिकट नपाएपछि प्रतिनिधिसभा ३ को २ बाट जानकीप्रसाद यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले विहानसम्म पार्टीको टिकट आफुले पाएको बताएका थिए । अन्तिम समयमा टिकट नपाएपछि यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै प्रतिनिधि सभा २ को एकमा नेपाली कांग्रेसका नेता रेश्मीराज अधिकारीले पनि स्वतन्त्र उम्मेदवार दर्ता गराएका छन् । त्यस्तै कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर ३ बाट अभिषेक प्रताप शाहविरुद्ध कांग्रेसकै पुराना नेता अकिल मियाँले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै एमालेबाट गत संविधानसभा सदस्यमा उम्मेदवार बनेका अजिजुर रहमान सेखले प्रतिनिधि सभा एकको (२) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७४ शुक्रबार ००:००  १ : ४४ बजे