१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

टिकट नपाएका ७ जना कांग्रेस नेता बागी उम्मेद्धवार



मायादेवी अनलाइन, कपिलवस्तु, १७ कार्तिक ।
नेपाली कांग्रेसका ७ जना नेताले बागी उम्मेद्धवारी दिएका छन् । मंसिर २१ गते हुन गइरहेको प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा टिकट वितरणमा असन्तुष्ट कांग्रेस नेताले स्वतन्त्र उम्मेद्धवारी मनोनयन दर्ता गराएका छन् । देउवा पक्षले गुटबन्दी गरेको भन्दै रामचन्द्र पक्षकाले बागी उम्मेद्धवारी दिएका हुन् ।
अन्तिम समयमा आफ्नो नाम प्रदेशसभा उम्मेद्धवारबाट हटाइए पछि आक्रोशित बनेका क्षेत्र नं. ३ का सभापती अकिल मियाले ३ को १ मा स्वतन्त्रबाट प्रदेश उम्मेद्धवारी दिनुभएको छ । त्यहा एक महिना अघि मात्र राप्रपाबाट कांग्रेस पसेका अजय थापालाई कांग्रेसले टिकट दिएको छ । प्रदेश ३ को २ मा टिकट पाउने ग्यारेन्टी सहित कांग्रेस प्रवेश गरेका जानकी यादवले पनि टिकट नपाएपछि ३ को २ मा बागी उम्मेद्धवारी दिनुभएको छ ।
विहिबार विहान ८ बजे उनको नाम काटेर विरेन्द्र कनौडियालाई कांग्रेसले टिकट दिएको थियो । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा महासमिति सदस्य राजु प्रसाद अर्यालले पनि २ को २ बाट प्रदेश सभामा स्वतन्त्र उम्मेद्धवारी मनोनयन दर्ता गराउनुभएको छ । पटक–पटक उम्मेद्धवार बनेर पराजित सुधारक पाण्डेलाई उम्मेद्धवार बनाएको भन्दै असन्तुष्ट बनेका अर्यालले बागी उम्मेद्धवारी दिनुभएको हो ।
“पाण्डेलाई कांग्रेस सभापति सुरेन्द्रराज आचार्यले जर्बजस्ती टिकट दिएपछि आफुले कार्यकर्ताको माग र दबाब अनुसार उम्मेद्धवारी दिन बाध्य भएको हु ” उहाले भन्नुभयो । यसै गरि २ को प्रतिनिधी सभामा तरुण दलका केन्द्रिय सदस्य लोकन्द्र खाँडले पनि स्वतन्त्र उम्मेद्धवारी मनोनयन दर्ता गराउनुभएको छ ।
अन्तिम समयमा २ को १ प्रदेश सभा टिकट जवाहर थारुलाई दिएपछि असन्तुष्ट बनेका खाँडले त्यहाका कांग्रेस उम्मेद्धवार तथा सभापति सुरेन्द्र आचार्य विरुद्ध दलबलका साथ उम्मेद्धवारी दिनुभएको हो ।
यसै गरि प्रतिनिधीसभा १ मा नेपाली कांग्रेसबाट बडो सकसका साथ उम्मेद्धवार बन्न सफल भएका पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय विरुद्ध पनि कांग्रेसका चर्चित नेता दुर्गा सेनले उम्मेद्धवारी मनोनयन दर्ता गराउनुभएको छ । संगठनमा इमान्दार कार्यकर्ता भन्दा पनि गुटबन्दी गरेर पार्टीलाई नै धराशायी बनाएको भन्दै उहाले उपाध्याय विरुद्ध बागी उम्मेद्धवारी दिनुभएको हो ।
प्रदेश सभा १ को २ मा पनि कांग्रेसले देउवा पक्षका राजेश आचार्यलाई उम्मेद्धवार बनाएपछि त्यस क्षेत्रका युवा नेता अमित पाण्डेले स्वतन्त्र उम्मेद्धवारी मनोनयन गराएका छन् । कांग्रेसमा ७ जना विरुद्ध बागी उम्मेद्धवारी परेपछि कपिलवस्तु कांग्रेसका उम्मेद्धवार तथा कार्यकर्ताहरु चिन्तित बनेका छन् । बाम गठबन्धनले चुनौती थपेको अवस्थामा टिकट नपाएर असन्तुष्ट बनेकाहरुले धमाधम उम्मेद्धवारी दिएपछि कांग्रेस कपिलवस्तुका सबै क्षेत्रमा जित हात पार्न सकस देखिएको छ ।
कांग्रेस जिल्ला कोषाध्यक्ष महेन्द्र पाठकले असन्तुष्टलाई मिलाएर उम्मेद्धवारी फिर्ता लिन आवश्यक पहल भइरहेको बताउनुभयो । संगठनको निर्णयलाई मानेर आफ्नो राजनितिक भविष्य सोचेर सबैले बामपन्थी गठबन्धन विरुद्ध आफ्नो उम्मेद्धवार जिताउन लाग्न पाठकले आग्रह गर्नुभयो ।
यता एमालेको तर्फवाट क्षेत्र नं १को प्रदेश सभा २ मा उम्मेदवार बनेका फैजल खाको विरुद्ध एमालेका जिल्ला नेता अजिजुर रहमान शेष र हालै एमाले प्रबेश गरेका इशरार अहमदखाँ ले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिनु भएकोछ । यता जिल्ला अध्यक्ष झविलाल पोख्रेलले उहाहरुलाई पार्टीले चिक्त बुझाएर समस्या सुल्झाउने वताउनु भयो ।

प्रकाशित मिति : १७ कार्तिक २०७४ शुक्रबार ००:००  १ : ५१ बजे