८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कोमल वलीलाई एमालेको यस्तो घात ! स्वतन्त्र उम्मेदवार दर्ता



दाङ, १७ कार्तिक ।
अन्तिम समयमा आएको गायिका कोमल वलीको टिकट खोसिएको छ । राजावादीहरूको पार्टी छाडेर चर्चित गायिका कोमल वली एक महिनाअघि मात्रै एमालेमा प्रवेश गरिन् । दाङकी स्थायी बासिन्दा वलीले एमालेबाट टिकट पाउने आशमा पूर्वपञ्चहरूको पार्टी राप्रपा छाडेर एमालेमा प्रवेश गर्ने्वित्तिकै प्रतिनिधिसभाको टिकटका लागि दौडधुपमा लागिन् ।
एमालेको मुख्यालय धुम्बाराही र ठुला नेताहरूको घरदैलो चहारिरहने केही नेताहरूले वली जत्तिको ‘प्रोफाइल’ भएको व्यक्तिलाई टिकट दिन कन्जुस्याइँ नगरिने भन्दै हौस्याए । त्यसपछि प्रत्यक्षको टिकट पाउने आशमा उनले एमालेका दोस्रो तहका नेताको घर दैलोसम्म पुग्न भ्याइन् ।
तर, माओवादीसँग गठबन्धन गरेको एमालेले पूर्वपञ्चहरूको पार्टीबाट आएकी वलीलाई महिना दिनमै टिकट दिने छाँट देखाएन । कोमलले प्रत्यक्षमा टिकट पाउने सम्भावना सकिएपछि एमालेकै केही नेताले उनलाई समानुपातिकको ‘ललिपप’ खुवाउन भ्याए । समानुपातिकको बन्दसूचीमा पर्ने आश गरेकी कोमल त्यहाँबाट पनि पाखा लागिन् ।
त्यसपछि उनको जोड प्रत्यक्षमै थियो । त्यसैका लागि उनी अन्तिम समयसम्म दाङ घर भएका एमाले नेता शंकर पोख्रेलसहितका नेताहरूकहाँ लविङमा लागिरहिन् । तर, नेता पोखरेलले यो पटक टिकट दिन नसकिएको भन्दै बुधबार राति फोन गरेपछि कोमलको चुनाव लड्ने सपना सकियो ।
एमालेले नपत्याएपछि कोमलले प्रतिनिधिसभाका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएकी छिन ।
एमालेले धोका दिएको भन्दै निराश देखिएकी कोमलले बेइमान होला भन्ने नसोचेको बताइन् । अब एमालेमै बस्ने नबस्ने कुरा आफूमा भन्दा पनि धेरै पार्टीमा नै भर पर्ने उनको तर्क थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७४ शुक्रबार ००:००  २ : ०१ बजे