७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कांग्रेसले कौडीको भाउमा देशका सम्पत्ती बेचेर देशलाई कंगाल बनायो – ओली



झापा, कात्तिक १७ ।
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस पार्टीसँग इमान जमान सकिएको आरोप लगाउनुभएको छ । मुलुकका वामपन्थीहरु एकजुट हुँदा कांग्रेसका केही नेताहरु पानी छम्किनु पर्नेगरि मुर्छा परेकोसमेत उहाँको आरोप छ ।
‘कांग्रेससँग आज विपी, गणेशमान, सुवर्णसमशेर जस्ता त्यागी छैनन, मात्र निजी स्वार्थको लागि मरिमेट्ने देश लुटाहा मात्र बाँकी छन् ।’ ओलीले शुक्रबार बिहान दमकस्थित निजी निवासमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।
आफू लोकतन्त्रको लागि जेलनेल भोगिरहँदा अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतका गल्लीमा हल्लिरहेको बताउँदै ओलीले भन्नुभयो, ‘मैले उनलाई २०३२ सालमा जेलमा भेट्नसम्म भेटेको हुँ, तर उनको यो लोकतन्त्र ल्याउन त्यति ठूलो योगदान छैन ।’
मुलुकको न्यायप्रणालीले दिने हदैसम्मको दुःख आफूलाई दिएको स्मरण गर्दै ओलीले भन्नुभयो, ‘तै पनि म यो अदालतको सम्मान गर्दछु, हामी स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास गरिरहन्छौं ।’ एमाले प्रतिशोध र दण्डहिनतामा विश्वास नगर्ने उहाँको भनाई थियो ।
नेपाली राजनीतिमा कुनै बेला कांग्रेससँग डिपार्टमेण्ट स्टोर थियो भन्दै ओलीले भन्नभुयो ‘हेर्दै गर्नूहोला, छिट्टै कांग्रेससँग बाँकी भएको एउटा सटर पनि बन्द हुँदैछ ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कम्युनिष्टहरुले अधिनायकवाद ल्याउन खोजेको ब्यहोराको आरोप लगाएको बताउँदै ओलीले कांग्रेसका बोलीमा मात्र लोकतन्त्र भएको र ब्यबहारमा स्वार्थको भकारी भर्ने घिनलाग्दो दाउमात्र भएको आरोप लगाउनुभयो ।
कुनैबेला कांग्रेसको नेतृत्वको सरकारले निजीकरणको नाममा उद्योगहरु बेचेको आरोप लगाउँदै ओलीले भन्नुभयो, ‘कौडीको भाउमा देशका सम्पत्ती बेचेर देशलाई कंगाल बनाएको कांग्रेसले नै हो ।’
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले शान्ति प्रकृयामा आइसकेको माओवादीलाई पहिलेकै नजरले हेर्न नहुने बताउनुभयो । उहाँले हिजोअस्ति प्रचण्डलाई प्रधानमन्त्री प्रस्तावित गर्ने कांग्रेसले माओवादीलाई फरक देख्नुलाई अरानीतिक चरित्र भएको बताउनुभयो ।

प्रकाशित मिति : १७ कार्तिक २०७४ शुक्रबार ००:००  ८ : ३३ बजे