१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

रुपन्देहीमा घनश्याम भुसाल र दीपक बोहोराको कडा टक्कर



रुपन्देही, १७ कार्तिक ।
मंसिर २१ गते हुने निर्वाचनमा रुपन्देहीमा पार्टीका केन्द्रीय पदाधिकारीहरु विच प्रतिष्पर्धा देखिएको छ । एमालेका दुई उपमहासचिव, स्थायी समिति सदस्य, राप्रपा प्रजातान्त्रिकका बरिष्ठ उपाध्यक्ष, राजपाका उपाध्यक्षको रुपन्देहीबाट उम्मेदवारी परेको छ ।
पाच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा सबैभन्दा बढी चर्चा क्षेत्र नम्बर ३ को रहेको छ । रुपन्देही क्षेत्र नम्बर तीनमा बहालवाला मन्त्री र पूर्वमन्त्रीबीच प्रतिष्पर्धा हुदैछ । एमाले उपमहासचिव तथा पूर्व मन्त्री घनश्याम भुसाल र राप्रपा प्रजातान्त्रिकका नेता दिपक बोहोरा चुनावी मैदानमा छन् ।
कांग्रेसको समर्थन पाएका बोहोर यसअघि रुपन्देही २ बाट निर्वाचित भएका थिए । भुसाल कांग्रेस नेता बालकृष्ण खाणसंग जम्मा ८५ मतले पराजित भएका थिए । पहिलो क्षेत्रको संरचना फेरिएकाले निर्वाचन कस्को पक्षमा जान्छ भन्ने आकलन गर्न कठिन छ । तर स्थानीय तहको निर्वाचनमा हालको निर्वाचन क्षेत्र तीनका अधिकांश क्षेत्रमा एमालेले जीत हासिल गरेकाले बाम गठबन्धन केही बलियो भएको आकलन गरिएको छ । नेताहरुले आ–आफ्नै तर्क र एजेण्डा लिएर मैदानमा होमिएका छन् ।
स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउपालिका, तिलोत्तमा नगरपालिकामा एमालेले जीतेको छ । तिनै क्षेत्रहरु क्षेत्र नम्बर ३ मा परेका छन् । स्थानीय तहको मतपरिणाम अनुसार बाम गठबन्धनका उम्मेदवार भुसाल अगाडि देखिएका छन् । राप्रपाले प्राप्त गरेको मत र कांग्रेसको मत जोड्दा समेत एमाले माओवादीको मत झण्डै ५ हजारले अगाडी रहेको छ ।
निर्वाचन जित्नका लागि जस्तोसुकै हतकण्डा अपनाउन सफल मानिने बोहोराको प्रतिष्पर्धामा यो मत थोरै हुने आकलन गरिएको छ । घनश्याम भुसाल सैद्धान्तिक बहस गर्ने नेता हुन । उनमा चलखेल गर्ने प्रबृति नभएको उनी निकटहरु बताउछन् । दुई नेताको प्रतिष्पर्धा रहेकाले रुपन्देहीको क्षेत्र नम्बर ३ को निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७४ शुक्रबार ००:००  ३ : ५५ बजे