१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

देउवाका प्रतिस्प्रर्धी खगराज भन्छन–‘डडेल्धुरामा देउवाको समय सकियो’!



डडेल्धुरा, २० कार्तिक ।
नेकपा माओवादी केन्द्रका युवा नेता खगराज भट्ट डडेल्धुराबाट काँग्रेस सभापति शेरबहादुर देउवासंग प्रतिनिधी सभामा भिड्दैछन् । उनी देउवासंग लगातार तेस्रोपटक आमने–सामने हुन लागेका हुन् । तर डडेल्धुरामा अहिलेसम्म देउवा कुनै पनि निर्वाचनमा पराजित भएका छैनन् । तर यसपटक भने देउवालाई डडेल्धुरामा त्यती सहज देखिदैन । मुलुकका दुई कम्युनिष्ट पार्टी एमाले र माओवादीको गठबन्धन हुँदै पार्टी एकतासम्मको लाइन आएपछि देउवा संकटमा परेका हुन् ।
स्थानीय चुनावमा काँग्रेस ८ हजार मतले पछाडी
पहिलो र दोस्रो संविधानसभामा देउवाले माओवादी नेता खगराज भट्टलाई पराजित गरेका थिए । यसपाली वामगठबन्धन बनेपछि देउवाको चुनौति बढेको हो । एकातिर जिल्लामा काँग्रेसभित्रै देखिएको अन्तरविरोध र अर्को्तिर वामगठबन्धन बनेपछि उनका लागि चुनौति थपिएको हो । योसंग कांग्रेसका पूर्व जिल्ला सभापति शेरबहादुर ढाँटसमेत बाम गठबन्धनमा प्रवेश गरेपछि देउवा थप सकसमा परेका हुन् । स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतलाई आधार मान्ने हो भने पनि देउवाका लागि चुनौति देखिन्छ ।
केन्द्रका लागि एउटा मात्र निर्वाचन क्षेत्र छ । यसरी हेर्दा सम्पूर्ण मत एक निर्वाचन क्षेत्रमा पर्नेछ । प्रदेशसभाका लागि भने दुई वटा निर्वाचन क्षेत्र छन् । डडेल्धुरामा रहेका सातवटा स्थानीय तह काँग्रेसले कुल मत १९ हजार पाँच सय २३ मत पाएको छ । एमालेलाई १६ हजार नौ सय १५ मत प्राप्त भएको थियो ।
माओवादी केन्द्रले १० हजार ९ सय ४५ मत पाएको छ । यसरी हेर्दा गठबन्धनको पक्षमा २७ हजार ९ सय ५३ मत छ । यो मत काँग्रेसले स्थानीय तहमा पाएको मत भन्दा ८ हजार ४ सय ३० मत बढी छ । यही मत अन्तर देउवाका लागि चुनावमा ठुलो चुनौती हो ।
केन्द्र र प्रदेशका लागि डडेल्धुरा ८१ हजार सात सय २३ मतदाता छन् । यहाँ दोस्रो चरणमा २१ गते चुनाव हुँदैछ । वाम गठबन्धनका उम्मेदवार खगराज भट्ट यसपटक आफ्नो जित हुनेमा ढुक्क देखिन्छन् । न्यूजसेवासँग कुरा गर्दै भट्टले भने–‘डडेल्धुरामा अब देउवाको समय सकियो, अब युवाले नेतृत्व गर्ने बेला भयो, हामी उहाँ –देउवाजी जस्तै सपना होइन सम्वृद्धि बाड्छौं’ ।
देउवाले पटक–पटक मुलुकको नेतृत्व गर्दा पनि आफनै गृहजिल्लामा विद्युत्, शिक्षा, स्वास्थ्य लगायतका समस्याबाट जनतालाई मुक्त गर्न नसकेकोे उनको आरोप छ । वाम गठबन्धनका सबै उम्मेदवार जित्ने र डडेल्धुराको मात्रै नभई सुदुरपश्चिमकै विकासले नयाँ युग जन्माउने उनको भनाई छ ।
साभार रेडियो धनगढीको अनलाइनबाट

प्रकाशित मिति : २० कार्तिक २०७४ सोमबार ००:००  ३ : ३६ बजे