८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बामपंथीको कांग्रेसलाई प्रश्न ? दलहरु मिल्दा अधिनायकवाद, झगडा गर्दा लोकतन्त्र हुन्छ !



काठमाडौं, २१ कात्तिक
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टीको एकताबाट हतास नबन्न कांग्रेसलाई सुझाव दिनुभएको छ । मंगलवार संयुक्त चुनावी घोषणा पत्र सार्वजनिक गर्दै ओली र दाहालले दलहरु मिलेर निर्माण हुने स्थिरताले लोकतन्त्र समाप्त हुने जस्तो कसैले नपत्याउने कुरा नगर्न कांग्रेसलाई सुझाव दिनुभएको हो ।
‘दुई पार्टी मिल्दा कोकोहोलो मच्चाउनु परेको किन ? विगतमा पनि मिलेरै सरकार चलाएका थियौं, एउटा पार्टी र अर्काे पार्टी मिलेर सरकार बनाएकै थियो’ एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘संविधानसभाको चुनावपछि पनि राष्ट्रिय सहमतिको सरकार कांग्रेसको नेतृत्वमा बनाउँ भनेर लाग्यौं, कांग्रेसकै कारण माओवादीलाई समावेश गर्न सकिएन । संविधान जारी पछि पार्टीहरु मिलेर सरकार बनाउनु हुँदैन भनेर कांग्रेस बाहिर निस्क्यो । झगडा गर्दा सुरक्षित हुने मिल्दा प्रजातन्त्र खतरामा पर्ने हो ?’
दुई बामपन्थी पार्टी मिल्दा लोकतन्त्र खतरामा पर्ने र अधिनायकवाद आउने भन्ने कांग्रेसको भनाईलाई भ्रमपूर्ण प्रचारको संज्ञा ओलीले दिनुभयो । ‘लोकतन्त्र हामीले ल्याएको हो । कसैले ल्याइदिएर उपहार दिएको होइन । लोकतन्त्रका लागि संघर्ष, त्याग र वलिदान गरेको पुस्ता नै यहीँ छ । लोकतन्त्रलाई हामीले निष्ठा मात्रैमा सिमित राखेका छैनौं’ ओलीले भन्नुभयो, ‘हामीले हाम्रो सन्दर्भमा संसदीय ब्यवस्था छानेका छौं, तर अरु ब्यवस्थालाई गाली गर्दैनौं । तानाशाही ब्यवस्था चाहिँ हामी मान्दैनौं ।’
एमाले र माओवादी मिल्दा कांग्रेसले भँुईं बजार्नु पर्ने र कपाल लुछ्दै हिंड्नु आवश्यक नभएको ओलीको भनाई थियो । ‘संसारका अरु देशले आफ्नो आवश्यकता अनुसारका राजनीतिक प्रणाली अपनाएका छन् । हामी त्यसप्रति टिप्पणी गर्दैनौं । हामी सबैमा समानता रहने लोकतान्त्रिक प्रणाली मान्छौ, अपनाउँछौं’ ओलीले भन्नुभयो, ‘लोकतन्त्रप्रतिको हाम्रो निष्ठा । हामीप्रति कसैले उठाउन खोजेको आशंका, आशंका पनि भन्दिनँ, भ्रमपूर्ण प्रचार हो । हामी दुई पार्टी मिलेर विगतमा सरकार बनाउँदा कोकोहोलो त मच्चिएको थिएन । अहिले एमाले र माओवादी मिल्दा भुइँ बजार्ने, कपाल लुछ्ने किन ? पार्टीहरु मिल्दा लोकतन्त्र खतरामा पर्ने झगडा गर्दा सुरक्षित हुने हो ?’
ओलीले संयुक्त घोषणा पत्रको अन्तरवस्तुवारे ५ वटा कुरालाई आफूहरुले केन्द्रमा राखेको वताउनुभयो । ‘हामी ५ वटा कुरामा ग्यारेन्टी गर्छाैं, राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय अखण्डता र स्वाधीनता, शान्ति, स्थायित्व र आर्थिक विकास’ ओलीले भन्नुभयो, ‘यी उद्धेश्य पूरा गर्न हामीले चुनावी होइन राष्ट्र निर्माणको घोषणापत्र सार्वजनिक गरेका हौं ।’ संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेखित दीगो विकासको अवधारणा अनुरुप विकास गर्ने लक्ष्य गठबन्धनले लिएको ओलीले प्रष्ट पार्नुभयो ।
घोषणापत्रका अन्तरवस्तुमाथि बोल्दै माओवादी अध्यक्ष दाहालले दुई दलको चुनावी तालमेल र भविश्यमा गर्ने भनिएको पार्टी एकता राजनीतिक स्थिरता र आर्थिक विकासमा केन्द्रित भएको वताउनु भयो । उहाँले घोषणा पत्रले तीन वर्षमा गरिने विकासका योजना र कार्यक्रम तथा ५ वर्षमा गरिने विकास कार्यक्रमको खाका प्रस्तुत गर्नुभयो । ‘७० वर्ष अघि देखिको राजनीतिक अस्थिरतालाई अव अन्त्य गर्नुपर्छ र राजनीतिक स्थिरता मार्फत विकासको फड्को मार्नुपर्छ’ दाहालको भनाई थियो, ‘हामीले ३ वर्षमा गर्न सकिने काम र ५ वर्षमा गर्न सकिने कामको सूची बनाएर यहाँ प्रस्तुत गरेका छौं ।’

प्रकाशित मिति : २१ कार्तिक २०७४ मंगलबार ००:००  ११ : ५० बजे