१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

दलहरू गाउँमा पुगेपछि चुनावी चहलपहल



पाल्पा, २४ कात्तिक (रासस) ।
आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि दलहरू गाउँघरमा पुगेपछि चुनावी चहलपहल बढेको छ । जिल्लाका शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा चुनावी गतिविधि अघि बढेपछि मतदाता खुशी छन् ।दलले भोट आफ्नो पक्षमा पार्न चुनावी सभा, पार्टी कार्यालय स्थापनादेखि घरदैलो, प्रचारप्रसार गर्ने कार्य तीव्रगतिमा अघि बढेका छन् ।

दलका नेता तथा कार्यकर्ता गाउँ पसेर पार्टी बैठक, चुनावी कार्यालय स्थापना र कोणसभामा जुटिरहेका छन् । दलले भोट आफ्नो पक्षमा पार्न यतिबेला मतदातासँग साइनो लगाउन ब्यस्त देखिएका छन् ।

भोट माग्दा हुल भएर दल आएपछि शहरमा भन्दा गाउँघरतिर बढी चहलपहल भएको मतदाता बताउँछन् । दलका उम्मेदवारसहित वडा, गाउँपालिका, निर्वाचन र जिल्ला तहका नेता तथा कार्यकर्ता भोट माग्न पसेपछि बस्तीमा चुनावी चहलपहल देखिन थालेको हो ।

नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) जिल्लाका सबै तहमा चुनावी प्रचारमा जुटेपनि साना दलहरू समेत चुनावी चिह्न, झण्डा र प्रचार साम्रगी बोकेर गाउँ पसेका छन् । नौ दल चुनावी मैदानमा होमिएपछि यतिबेला गाउँघरमा चुनावी गतिविधि बढेको स्थानीय बासिन्दा बताउँछन् ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७४ शुक्रबार ००:००  ३ : १२ बजे