१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सवारी ज्यानमुद्धाका फरार प्रतिबादी पक्राउ



सीताराम चौधरी, चन्द्रौटा, २४ कार्तिक ।
कपिलवस्तुमा सवारी ज्यानमुद्धाका फरार प्रतिबादी चार महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको महराजगञ्ज नगरपालिका वडा नं. १, पल्टा बस्ने वर्ष ५५ का राजमंगल खटिक रहेका छन् ।
घटनापछि फरार रहेका प्रतिबादी खटिकलाई वडा प्रहरी कार्यालय चन्द्रौटाको प्रहरी टोलीले शिवराज नगरपालिका १, शिवपुरस्थित राजमार्ग सडकखण्डमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका प्रतिबादी खटिकलाई जिल्ला अदालत तौलिहवाबाट पहिलो पटक १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

गत असार ५ गते साँझ पक्राउ परेका प्रतिबादी खटिक चढेको लु ७ प २३ नम्बरको मोटरसाइकलले जिल्लाको शिवराज नगरपालिका १३ थुन्हियास्थित भित्री खडकखण्डमा स्थानीय पैदलयात्री ५० वर्षीय जगन्नाथ यादवलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेका यादवको उपचारको क्रममा गत असार १२ गते मृत्यु भएको थियो । घटनापछि प्रतिबादी खटिक चार महिनापछि यही कार्तिक २१ गते पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७४ शुक्रबार ००:००  ३ : २० बजे