६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मधेश र पहाडको भावनात्मक सम्बन्ध कसैले अलग गर्न नसक्ने -नेता मिश्र



सीताराम चौधरी, चन्द्रौटा, २४ कार्तिक ।
मधेश र पहाडबीच भावनात्मक सम्बन्ध रहेको कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभा उम्मेदवार ईश्वर दयाल मिश्रले बताउनुभएको छ ।
जिल्लाको शिवपुरमा संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पूर्व भौतिक योजना राज्यमन्त्री समेत रहनुभएका मिश्रले मधेश र पहाड कहिल्यै अलग हुन नसक्ने तर्क राख्नुभएको हो । पहाडी समुदायलाई मधेश विरोधी बनाएका कारण मधेश आन्दोलन सफल नभएको औल्याउँदै नेता मिश्रले कथित मधेशी नेताको कारण मधेशी पहाडीको दूरी बढेको गुनासो गर्नुभयो । नेपाली कांग्रेसको इसारामा चल्ने मधेशी दलहरुले मधेशको विकास कहिल्यै सम्भव नभएको समेत मिश्रले ठोकुवा गर्नुभयो । देशलाई समृद्धितर्फ लैजाने पार्टी नै एमाले भएकाले आफू स्वतन्त्र भएर सूर्य चिन्ह लिएर चुनावमा होमिएको उहाँले बताउनुभयो ।
२०६४ सालमा आफू सांसद हुँदा सबैको सहयोगले राज्यमन्त्री समेत भएको मिश्रले बताउनुभयो । त्यसबेला कपिलवस्तु क्षेत्र नं. ४ का विभिन्न सडक कालोपत्रे, स्तरोन्नतिका काम गरेको बताउँदै विकासमा अझ धेरै पछाडि परेको क्षेत्रमा बाम गठबन्धनले मात्र विकास गर्न सक्ने उहाँले दाबी गर्नुभयो । केही नेताहरु जातीय, धार्मिक कुरा गर्दै हिड्ने गरेकाले त्यस्ता नेतालाई अब जनताले तह लाउने नेता मिश्रले बताउनुभयो । बिगतका आन्दोलनमा पहाडी समुदायको साथबिना नै मधेश बिकास गर्न खोज्ने गल्ती गरेको र बिभिन्न तिक्तता समेत रहेकाले माफी माग्दै अब न मधेस, न पहाड, नेपाल र नेपालीको नारा बोकेर बाम गठबन्धनले बिकासका मुहारहरु पस्कनेमा ढुक्क भएर लाग्न र बाम उम्मेदवारलाई बिजयी बनाउन मतदातालाई प्रतिनिधि सभा उम्मेदवार मिश्रले आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा ३ प्रदेशसभा १का उम्मेदवार अर्जुन के.सी.ले ईश्वरदयाल मिश्रको बारेमा पहाडमा र अर्जुन केसीको बारेमा मधेसमा गलत प्रचार गरिरहेकाले आप्mना एजेण्डाहरु बोकेर जनताको माझ जान अनुरोध बाम गठबन्धनका सम्पूर्ण कार्यकर्तालाई अनुरोध गर्नुभयो । हिजो पहाडी समुदायलाइ खेद्छौं भन्नेहरुले नै अहिले काँधमा बोक्ने दिन आएकोले अब पनि जनता झुक्याउने खेल खेल्न खोजे पनि ती दिनहरु समाप्त भएको उहाँले बताउनुभयो । बाम गठबन्धन चुनाव जित्न मात्र नभई देश बिकास गर्न बनेको भन्दै कपिलवस्तु क्षेत्र नं. ३ लाई नमूना बनाएरै छाड्ने केसीले प्रतिबद्धता जाहेर गर्नुभयो ।
शिक्षा, स्वास्थ अनिवार्य गर्ने तथा सडक सञ्जाल बिस्तार गर्ने र कृषकहरुको लागि आत्ननिर्भरका कार्यक्रम लागू गर्ने प्रतिबद्धता समेत नेता के.सी.ले गनुभयो । यस्तै युवा नेता मिर्जा अरसद बेगले बिगतका जातीय युद्ध जस्तै रहेको मधेस र पहाडले सधै पिरोलिरहेकाले पनि यो एकता देशको हितको लागि भएको बताउनुभयो । मधेसको बिकास गर्ने उद्देश्य बोकेकाले एमालेमा प्रबेश गरेको बेगले बताउनुभयो । पदमोहको राजनीति गर्ने मान्छे आफू नभएको बताउँदै उहाँले सबै समुदायलाई बिभेदका कुराहरु छाडेर अब बाम उम्मेदवारलाई जिताउन अनुरोध गर्नुभयो । निर्वाचन परिचालन कमिटी संयोजक सफर अलि मियाले बाम गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गर्दै अबको मुलुक हाँक्ने जिम्मेवारी बाम गठबन्धनको काँधमाथि आइपरेको बताउनुभयो । शरद अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरी १२५ जना तथा राप्रपाबाट २५ जना नेता तथा कार्यकता एमालेमा प्रबेश गरेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७४ शुक्रबार ००:००  ३ : १५ बजे