१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

२७ वर्षपछि डडेल्धुरा शेरबहादुर देउवा मुक्त हुँदैछ : प्रतिष्पर्धी खगराज भट्ट



डडेल्धुरा ।
प्रदेश ७ का प्रभावशाली नेताको सूचीमा माओवादी केन्द्रका नेता खगराज भट्ट पनि पर्छन्। संसदीय निर्वाचनमा उनी तीन पटक प्रतिस्पर्धामा उत्रिँदैछन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग दुई पटक पराजय बेहोरेका भट्ट तेस्रो पटक उनैसँग भिड्दैछन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा १५ सय मतले पराजित उनी २०७० सालमा १२ हजार मतान्तरले पराजित भए। यसपटक वाम गठबन्धनको पक्षमा मत बढी देखिएकाले उनी आशावादी पनि छन्। स्थानीय तहको मतका हिसाबले वाम गठबन्धन झन्डै साढे ८ हजार मतले अघि छ। वडाका हिसाबले ३५ मा माओवादी(एमाले र १७ मा मात्रै कांग्रेसले जितेको छ। सदरमुकाम रहेको अमरगढी नगरपालिका भने पहिलोपल्ट एमाले विजय भएको छ। यस हिसाबले यो निर्वाचन प्रधानमन्त्री देउवाका लागि सहज छैन।

के खगराजले डडेल्धुरामा राज गर्न सक्लान् त?

दुई पटक हार्नुभएको तपाईंले यसपल्ट प्रधानमन्त्री देउवालाई पराजित गर्न सक्नुहुन्छ?

डडेल्धुरावासी पहिलोपल्ट परिवर्तनका लागि यति धेरै उत्साहित भइरहेको पाएको छु। २७ वर्षदेखि लगातार देउवालाई जिताइरहेका जनताको अनुहारमा परिवर्तनको उत्कट चाहना देखेको छु। यसअघि उनलाई जिताउनुमा डडेल्धुरावासीमा शक्तिको स्वार्थ पनि थियो। अहिले उनको व्यक्तित्वमा क्षयीकरण हुँदै गएको छ। उनी शक्तिमा रहने अवस्थाको अन्त्य भएको छ। अब उनलाई जिताएर डडेल्धुरावासीले केही पनि पाउनेछैनन्। वाम गठबन्धनसँग अहिले साढे ८ हजार मत बढी छ। यो मेरो जितका लागि ठूलो आधार हो।

दोस्रो संविधानसभा निर्वाचनमा १२ हजार मत अन्तरले पराजय बेहोर्नुभएको तपाईंलाई जित सहज होला र ?

यसको सान्दर्भिक विवेचना गर्नुपर्छ। २०६४ सालको निर्वाचनमा हाम्रो धेरै मत बदर भयो। मत बदर नभएको भए मैले जितिसकेको थिएँ। पहिलो संविधानसभा निर्वाचनमा जनताको मन मैले जितेँ, कानुनी रुपमा देउवाले चुनाव जिते। २०७० सालमा हाम्रो पार्टी एकदमै विवाद र समस्यामा थियो। त्यो बेला पनि ‘मत गणनास्थल छाडेर हिँड’ भन्ने हाम्रो पार्टी केन्द्रको निर्देशन नभएको भए नतिजा पक्षमा नभए पनि अन्तर ठूलो हुँदैनथ्यो। अहिले परिस्थिति नै बेग्लै छ। वामपन्थी पार्टीहरुको राजनितिक मात्र होइन, यहाँ भावनात्मक एकता छ।
कांग्रेसीहरु समेत डडेल्धुरमा शेरबहादुरको विकल्प खोज्न रणनीतिक रुपमा अघि बढिरहेका छन्। शेरबहादुरले यहाँका कांग्रेसका इमानदार नेताहरुको राजनीतिक जीवन नै सक्ने अवस्थामा पुर्याएका कारण पनि यसपल्ट उनीहरु रणनीतिक निर्णय लिँदैछन्। डडेल्धुरावासीले नामका आधारमा होइन, कामका आधारमा मूल्यांकन गर्छन्। २७ वर्षपछि डडेल्धुरा शेरबहादुरमुक्त हुँदैछ।

निर्वाचन सत्ताका कारण पनि प्रभावित बन्न पुग्छ। आफ्नै हातमा सत्ता रहेका देउवाले पराजय बेहोर्लान् त?

२०४८ सालमा आफैंले गरेको निर्वाचनमा कृष्णप्रसाद भट्टराई पराजित भएका थिए। २०६४ सालको निर्वाचन गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भयो तर कांग्रेसले हारेको थियो। २०७० को निर्वाचनमा कृष्णप्रसाद सिटौला आफैं गृहमन्त्री थिए तर हारे। देउवा नेतृत्वमा भए पनि प्रहरी र प्रशासन उनको पक्षमा लाग्ने देखिँदैन। अबको एक(डेढ महिनामै वामपन्थी सरकार आउने सबैलाई ज्ञात भएकाले शेरबहादुरका निम्ति आफूलाई हानि हुने निर्णय लिन कोही अघि बढ्नेवाला छैनन्। जनता सचेत भइसकेको अवस्थामा बाहुबल र धनबलले प्रभाव पार्न सकिँदैन। यसपल्ट देउवाले जनताको परिवर्तनका चाहनालाई कुनै तरिकाले पनि प्रभावित पार्न सक्दैनन्।

यति लामो समय सरकार र सत्तामा बसेका देउवाको विपक्षमा डडेल्धुरावासी यति सजिलै उभिएलान् र ?

जनमत वामपन्थीसँगै बढी छ। वामपन्थी भए पनि ‘हेभीवेट’ प्रभावमा देउवालाई मत दिनेले यसपल्ट त्यसो गर्दैनन्। यसअघि उनलाई जिताए केही भइहाल्छ कि भन्ने आशा थियो। त्यो यसपल्ट टुटेको छ। निर्वाचनपछि ठूलो शक्ति त वाम गठबन्धन हुँदैछ। केन्द्र र प्रदेशमा उसैको सरकार बन्छ भन्ने पनि जनतालाई थाहा छ। चारपल्ट प्रधानमन्त्री भइसकेका व्यक्तिले गृहजिल्लालाई बेवास्ता गरेको असन्तुष्टिले नै म २०६४ को निर्वाचनमा जितको संघार नजिक पुगेको हुँ। कांग्रेसभित्र यो तहको असन्तुष्टि र उकुसमुकुस यसअघि कहिल्यै देखिएको थिएन। आफ्नै पार्टीका कार्यकर्ता विपक्षमा रहेका बेला अरु उनको समर्थनमा उभिनेछैनन्।

शेरबहादुरको विकल्पमा तपाईंलाई जिताए डडेल्धुरावासीका लागि के गर्नुहुन्छ?

२७ वर्षमा देउवाले गर्न नसकेको काम म पाँचै वर्षमा गर्छु। डडेल्धुरावासीमा राजनीतिक स्वतन्त्रता महसुस गराउँछु। समृद्धि र स्थिरताकै लागि वामपन्थी एक ठाउँ आएका हौं। डडेल्धुराका जनताले देखेको परिवर्तनको सपना साकार पार्छु।

नेपाल लाइभका डिबी खड्काले गरेको कुराकानी नेपाल लाइभबाट लिइएको

प्रकाशित मिति : २५ कार्तिक २०७४ शनिबार ००:००  १० : २१ बजे