८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कांग्रेसलाई प्रतिवाद गर्न माधव नेपालको निर्देशन !



काठमाण्डौं, २५ कार्तिक ।
(एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसले बाम गठबन्धन विरुद्ध सञ्चालन गरेको ‘गोयबल्स शैली’को प्रचारको कडा रुपमा प्रतिबाद गर्न निर्देशन दिएका छन् ।

वाम गठबन्धन दोलखा–काठमाडौं सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजना गरेको बुद्धिजिवी भेलामा बोल्दै वरिष्ठ नेता नेपाल कांग्रेसको प्रचारशैलीको कडा रुपमा प्रतिवाद गरे । कांग्रेसको गोयबल्स शैलीको रक्षात्मक रुपमा होइन कि आक्रामक रुपमा प्रतिवाद गर्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

बाम गठबन्धनबाट कांग्रेस अत्तालिएको बताउँदै नेपालले भने, ‘पहिला पहिला कम्युनिष्टको सरकार आएपछि बुढाबुढीलाई मार्छ भन्दै हिँडेको कांग्रेस अहिले अधिनायकबाद आउँछ भन्दै गोयबल्स शैलीमा प्रचार–प्रसार गर्दै हिंडेको छ ।’

कांग्रेसका कारण देशमा सञ्चालनमा रहेका उद्योग धन्दा कलकारखानाको हालत के भएको छ ? देशको आर्थिक अवस्था कहाँ पुग्यो? कांग्रेसको विदेश नीतिले राष्ट्रियता कहाँ पुग्यो ? एमालेले सरकारको नेतृत्व गरेर के–के र्गयो ? त्यसको फेहरिस्तसहित तुलनात्मक खण्डन गर्नुस् । चुप लागेर नबस्नुस् । आक्रामक ढंगले अघि बढ्नुस् नेपालले निर्देशन दिँदै भने ।

बाम गठबन्धनको चुनावी तालमेल पार्टी एकताको पहिलो ‘स्टेप’ भएको उनले बताए । निर्वाचनमा बाम गठबन्धनलाई दुई तिहाई बहुमत आउने हिसाबले उत्साहका साथ निर्वाचनमा परिचालन हुन उनले अगुवा कार्यकर्तालाई आह्वान पनि गरे ।

मतदाता शिक्षालाई प्रभावकारी ढंगले सञ्चालन गर्दै अघि बढ्न उनले आग्रह गरे । ‘निर्वाचन पछि एमाले र माओवादीबीच पार्टी एकिकरण हुन्छ । पार्टी एकिकरण पछि देशलाई समाजवादतर्फ लैजान्छौ’ नेता नेपालले भने ।

भेलामा माओवादी केन्द्रका स्थायी समिति सदस्य लिलामणि पोखरेलले गठबन्धनको सहज विजयलाई दुई तिहाई बहुमतको लक्ष्य पूरा गर्नेगरि परिचालित हुन निर्देशन दिए । कम्युनिष्ट गठबन्धनको सरकार बनेपछि ‘नमूना मोडल’को विकासमार्फत मुलुकमा समाजवादी व्यवस्था लागू गर्न सकिने पोखरेलको भनाई थियो ।

(ई–कान्तिपुरबाट साभार)

प्रकाशित मिति : २५ कार्तिक २०७४ शनिबार ००:००  १० : ३७ बजे