१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जिसस प्रमुख नारायण खनालद्धारा निर्वाचन आचारसंहिता उलङ्घन, कार्रबाही कस्ले गर्ने ?



कपिलवस्तु, २५ कार्तिक ।
जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण प्रसाद खनालले सरकारी साधन प्रयोग गरि पार्टी प्रचार गरिरहेका छन् । नेपाली कांग्रेसबाट बुद्धभूमी नगरपालिका वडा नं. ८ को वडा सदस्य हुदै जिल्ला प्रमुखमा निर्वाचित खनालले अहिले प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा सरकारी श्रोत साधनको चरम दुरुपयोग गरिरहेका छन् । शनिबार मात्रै उनले हहिरपुरको पचिगवा भन्ने स्थानमा नेपाली कांग्रेसद्धारा आयोजित वडा भेलामा प्रमुख अतिथी बनेर निर्वाचनमा होमिन आह्वान गर्दै थिए । जिल्ला समन्वय समितिको लु १ झ ३४२ नम्बरको स्र्कापियो गाडी लिएर खनाल दिनभरी नै कांग्रेसको निर्वाचन अभियानमा हिडेको त्यहाका स्थानीयबासीहरुले जानकारी दिएका छन् । जिससका चालक शंकर पाण्डेले चलाएको उक्त सरकारी गाडी पचिगवा गाउँमा विहान ११ बजे देखि १ बजे सम्म कार्यक्रम स्थलमै रोकेर राखिएको थियो ।

निर्वाचन आचार संहिताको ठाडो उलङ्घन गर्दै जिल्ला समन्वय समितिका प्रमुख खनाल पार्टी प्रचारमा हिडेपछि यतिखेर प्रतिपक्षी तथा मधेशवादी दलले चर्को विरोध गरेका छन् । समन्वय समितिले आफ्नो मर्यादाका बिर्सेको भन्दै बाम गठबन्धनका नेता पिताम्बर खनालले आपत्ती जनाएका छन् । राज्यको सम्पत्ती लिएर पार्टीको प्रचारमा लाग्नु आचार संहिता विपरित भएको बताउदै उहाले यसबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयले केहि दिन अघि मात्रै स्थानीय तहमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आचारसंहिता सम्बन्धी १ दिने अभिमुखिकरण समेत दिएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार शनिबार मात्रै नभई कुनै पनि दिन कुनै पनि पार्टीको प्रचारमा वा सहयोगमा सरकारी साधनको प्रयोग गरिनु निर्वाचन आचार संहिता विपरित हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यसबारे उजुरी परेमा वा कार्यालयले यसबारे जानकारी पाएमा कारवाही गर्न सक्ने जनाएको छ । मुख्य निर्वाचन अधिकृत ओमकार उपाध्यायले यसबारे उजुरी परे छानबिन गरि आवश्यक कारवाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।

जिसस प्रमुख नारायण प्रसाद खनालले आफ्नो घर त्यतै भएको कारणले एउटा कार्यक्रममा जादा बिचमा रोकेर भेटघाट मात्र गरेको भन्दै यसबारे खासै बोल्न चाहेनन् । तर शनिबारको दिन पनि जिससको साधन प्रशासनको अनुमति बिना चलाउनु पनि गैरकानूनी भएको निजामती कर्मचारीहरु बताउछन् । जिल्ला प्रशासन कार्यालयले भने कार्तिक २५ गते शनिबारको लागि जिससको उक्त गाडी चलाउन कुनै स्वीकृती नलिएको जानकारी दिएको छ ।

फोटो विवरण ः कपिलवस्तुको बुद्धभूमी नगरपालिका ८ पचिगवामा कांग्रेस कार्यक्रममा रोकि राखेको जिससको सरकारी गाडी

प्रकाशित मिति : २५ कार्तिक २०७४ शनिबार ००:००  ११ : २० बजे