१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

चुनाव कसले जित्दैछ भन्ने कुरामा कसैलाई शंका छैन : भुषाल



भैरहवा, २६ कार्तिक ।
ने.क.पा. एमालेका केन्द्रीय उपमहासचिव एवं रुपन्देही क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुषालले मुलुकमा चुनाव कसले जित्दैछ भन्ने कुरामा कसैलाई पनि शंका नरहेको बताए । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत नेपालमा निर्वाचन पश्चात बामपन्थीहरुको नेतृत्वमा सरकार गठन हुने कुरा थाहा भएको बताएका छन ।

ने.क.पा. एमाले र ने.क.पा.(माओवादी केन्द्र)को सिद्धार्थनगर–१ बेलहियामा आयोजित संयुक्त भेलालाई सम्बोधन गर्दै भुषालले भारतले गरेको नाकाबन्दीको समयमा सबै नाका बन्द भए पनि बेलहीयाका जनताले घुँडा नटेकेका कारण सो नाका बन्द नभएको बताए । “बामपन्थी आए देशमा अधिनायकवाद लादिन्छ भन्ने भ्रम फैलाइएको छ, तर जनता अब भ्रमित हुँदैनन, उनले भने ।”

कम्युनिष्ट नेतृत्वकै सरकारले नै जनतालाई मालिक बनाउने भुषालको भनाइ थियो । बामपन्थीको सरकारले १० वर्ष भित्र काम गर्न योग्य जनतालाई रोजगारीको अवसर सिर्जना गर्ने र काम गर्न नसक्ने जनतालाई संरक्षण गर्ने भुषालले बताए ।

माओवादी केन्द्र रुपन्देहीका जिल्ला सह–संयोजक एवं रुपन्देही क्षेत्र नं. ३ प्रदेशसभा सदस्य १ का उम्मेदवार विश्वास बराल(अनुप)ले यति बेला जनताको मत प्रभावित पार्न खोजिएको बताए । उनले विगतमा कसले के ग¥यो भन्ने कुरा जनताले राम्ररी बुझेको बताए । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बामगठबन्धनले जितेर कम्युनिष्ट नेतृत्वको सरकार बन्ने देखेर विपक्षीहरु अत्तालिएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस, राप्रपा लगायतका पार्टी परित्याग गरी नेता–कार्यकर्ता ने.क.पा. एमालेमा प्रवेश गरेका छन । उनीहरुलाई एमालेका केन्द्रीय उपमहासचिव घनश्याम भुषाल लगायतले पार्टी प्रवेश गराएका थिए । त्यसै गरी भेलामा विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता ने.क.पा.(माओवादी केन्द्र) मा प्रवेश गरेका छन । उनीहरुलाई माओवादी केन्द्रका नेता हकिकुल्ला खाँ लगायतले पार्टी प्रवेश गराएका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७४ आइतबार ००:००  २ : ४७ बजे