११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

बामगठबन्धनका उम्मेदवारको उद्घोष : भोट दिनु बिकासको नयाँ मोडल हामी दिन्छौ



मायादेवी अनलाइन, कपिलवस्तु, २६ कार्तिक ।
कपिलवस्तु क्षेत्र नं. ३ का सूर्य चिन्ह लिएर निर्वाचन लडेका बाम गठबन्धनका उम्मेदवार ईश्वरदयाल मिश्रले समग्र जिल्लाको शान्ति सुरक्षाको प्रत्याभूति कायम गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
हरेक दृष्टिकोणले कृष्णनगर क्षेत्र असुरक्षित बनेको बताउँदै प्रतिनिधिसभाका उम्मेदवार मिश्रले आफ्नो जीतपछि यस क्षेत्रका बासिन्दाले महसुस हुनेगरी काम गर्ने प्रतिबद्धता जनाएका हुन् । संयुक्त बाम गठबन्धनको कृष्णनगरमा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेता मिश्रले व्यक्तिको भन्दा उसको कामको मूल्यांकन गरी भोट हाल्न मतदातालाई आग्रह गरे । “दुई दुई पटकसम्म चुनाव जितेका व्यक्तिले विकास निर्माणका के काम गरे जनताले सहजै मूल्यांकन गर्न सक्छन् । २०६४ मा आफू राज्यमन्त्री हुँदा चार महिनामा कपिलवस्तु क्षेत्र नं. ४ मा सडक कालोपत्रेदेखि बाटोको स्तरोन्नतिमा गरेको लगानी जनतासामु छर्लङ्ग छ,” –नेता मिश्रले भने । जनताले बाम गठबन्धनलाई जिताउने विश्वास गर्दै नेता मिश्रले कपिलवस्तुको समग्र विकासका लागि आफू सधैं तत्पर रहेको स्पष्ट पारे ।
यता बाम गठबन्धनबाट गोलो घेराभित्र हसिया हथौडा चुनाव चिन्ह लिई निर्वाचन क्षेत्र नं. ३ प्रदेशसभा २ बाट उम्मेदवार बनेका जावेद आलम खाँले राष्ट्रियता बलियो भयो राष्ट्र बलियो हुने र सम्पूर्ण नेपाली बलियो हुने बताएका छन् । मधेश, पहाड, हिमालका बासिन्दाबीच नङ र मासुको सम्बन्ध रहेको औल्याउँदै नेता खाँले हामी सबै नेपाली भन्ने राष्ट्रियताको भावना दिलाउनुपर्ने उद्घोष गरे ।
जातीयताको द्वन्द्वले देशलाई विखण्डनतर्फ धकेल्ने हुँदा आफूले राष्ट्रियताको मुद्दामा मात्रै होमिएको खाँको भनाई छ । बाम गठनबन्धनबाट प्रदेशसभा सदस्य उम्मेदवार बनेका खाँ सदैब क्षेत्रबासीको हकहितका लागि लड्ने बताएका छन् । नेता खाँले बाम गठबन्धनको जीत सुनिश्चित रहेको बताउँदै सबैलाई बामगठबन्धनमा लाग्न अनुरोध गरे ।
कार्यक्रमका प्रमुख अतिथि रहेको नेकपा एमालेका जिल्ला अध्यक्ष एवं संयुक्त बाम गठबन्धनका जिल्ला संयोजक झविलाल पोख्रेलले समग्र कपिलवस्तुको विकास निर्माण र समृद्धिको लागि बाम गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिए । कार्यक्रममा एमालेका केन्द्रिय नेता खिमलाल भट्टराई, संयुक्त बाम गठबन्धनका जिल्ला सहसंयोजक भानुप्रकाश श्रेष्ठ, संयुक्त बाम गठबन्धन निर्वाचन क्षेत्र नं. ३ का संयोजक सफर अलि, सहसंयोजक बालाराम बुढामगर, एमाले केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा समानुपातिक उम्मेदवार सिराज अहमद फारुकी, माओबादी केन्द्र जिल्ला सहसंयोजक सत्यनारायण त्रिपाठी, शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिवकुमारी थारु, कृष्णनगर नगरपालिका नगर उपप्रमुख सबनम खातुन, विजयनगर गाउँपालिका नगरप्रमुख गोपाल थापा, समाजसेवी फरहान खान लगायतले बाम गठबन्धनको जीत नै सम्पूर्ण देशबासीको जीत भएको औल्याउँदै बामगठबन्धनलाई जिताउन सम्पूर्णलाई आग्रह गरेका थिए । कार्यक्रम संयुक्त बामगठबन्धन निर्वाचन क्षेत्र नं. ३, प्रदेशसभा २ का संयोजक सुशिल श्रीवास्तवको अध्यक्षता र दिपक पाण्डेयको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७४ आइतबार ००:००  २ : ५५ बजे