१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बामपंथीको बहुमत त आयो आयो अबको लडाई दुई तिहाईको हो !



मायादेवी अनलाइन, कपिलवस्तु, २६ कार्तिक ।
बामपंथी गठबन्धन प्रत्येक वडा तहमा निर्वाचन प्रसार प्रसारको सम्पर्क कार्यालय स्थापना गर्न कम्मर कसेर लागेको छ । आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै प्रचार प्रसार कार्यालयको सम्पर्क कार्यालय स्थापना गर्न बामगठबन्धन लागेको हो । प्रतिनिधिसभा १ र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत वाणगंगानगरपालिकाका अधिकांश वडामा बामगठबन्धनले सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।
शनिबार पनि गठबन्धनले वाणगंगा नगरपालिकाका वडा नम्बर ९, ८, ३ र ५ मा प्रचार प्रसार कार्यालय स्थापना गरेको छ । वडा नम्बर ८ को प्रचार प्रसार कार्यालय उद्घाटन गर्दै प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार चक्रपाणी खनाल बलदेवले बामपंथी दलको एकतालाई कुनै शंका नगर्न आग्रह गर्नुभएको छ । देश बामपंथीमय भएको जिकिर गर्दै उम्मेदवार बलदेवले पटक पटक सरकारको नेतृत्वमा बसेको कांग्रेस १० बर्ष विपक्षी भएर बस्नुपर्ने तर्क गर्नुभयो । बामपंथी दल सरकार गएर विकास गरेपछि देशको विकास कसरी गर्नुपर्छ भनेर कांग्रेसले सिक्नु पर्ने उहाले तर्क गर्नुभयो ।
प्रतिनिधिसभा १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ का बामगठबन्धनका साझा उम्मेदवार विष्णु पंथीले स्थिर सरकार र समृद्धि नेपालका लागि बामगठबन्धनले जित्नुपर्ने बताउनुभयो । बामपंथीको देशभर जित सुनिश्चित भैसकेको भन्दै उहाले अब दुई तिहाईको लागि कसरत गर्नुपर्ने बताउनुभयो । विकास, शान्ति र समृद्धिको अनुभूती गर्न एक पटक बामगठबन्धनलाई मत दिन सबै मतदाता संग उहाँले आग्रह गर्नुभयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहनुभएका नेकपा माओबादी केन्द्रका नेता तथा पूर्व सार्वजनिक लेखा समिति सभापति डोरप्रसाद उपाध्यायले बामपंथी दलको एकतालाई कुनै शंकाको दृष्टिले नहेर्न आग्रह गर्नुभयो । विपक्षी दलले गठबन्धनको नाममा विभिन्न जालजेल गरिरहेको भन्दै उहाले हल्लाका पछि नलागि बामगठबन्धनलाई कसरी जिताउने त्यता तिर तल्लिन हुन आग्रह गर्नुभयो ।
वडा तहको संयुक्त निर्वाचन परिचालन समितिका संयोजक कर्णबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेता कृष्ण पौडेलले पनि भनाई राख्नुभएको थियो । उक्त अवसरमा एमाले नेता गुणानीधि भुसालले वडा स्तरमा हुने निर्वाचन गतिविधिको बारेमा जानकारी दिनुभएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७४ आइतबार ००:००  ३ : ०१ बजे