१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

राजनीतिक अस्थिरतालाई तोड्न बामगठबन्धन – घनश्याम भुसाल



भैरहवा, २७ कार्तिक ।
ने.क.पा. एमालेका केन्द्रीय उपहासचिव एवं रुपन्देही क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुषाल देशमा रहेको राजनीतिक अस्थिरतालाई तोडन बामगठबन्धन गरिएको बताएका छन । उनले राजनीतिक अस्थिरताले मुलुकलाई अगाडी बढन नदिने महसुस गरेर बामपन्थी दलहरु एकजुट भएको बताएका छन ।
ने.क.पा. एमाले र ने.क.पा.(माओवादी केन्द्र) रुपन्देही क्षेत्र नं. ३ सिद्धार्थनगरको संयुक्त प्रचारप्रसार कार्यालयको उदघाटन गर्दै भुषालले भारतले गरेको अघोषित नाकाबन्दीको बेला बेलहियाका जनताले देखाएको साहस प्रशंसनीय रहेको बताए । उनले निर्वाचन पश्चात बन्ने बामपन्थी नेतृत्वको स्थिर सरकारले देशमा शुशासनको ग्यारेण्टी गर्ने दावी गरे ।“मुलुक र जनताले धेरै दुःख पाइसके, तर अब बामपन्थी नेतृत्वको सरकारले जनताले पाएको दुःख अन्त्य गर्नेछ, उनले भने ।”
त्यस्तै ने.क.पा. (माओवादी केन्द्र) रुपन्देहीका जिल्ला सह–संयोजक एवं क्षेत्र नं. ३(१) प्रदेशसभा सदस्यका उम्मेदवार विश्वास बराल(अनुप)ले लोकतान्त्रिक गठबन्धनले जनतामाझ विभिन्न खालका भ्रमहरु छरेकोले त्यसलाई चिर्नुपर्ने बताए । उनले लोकतान्त्रिक गठबन्धनले पराजित मानसिकताका साथ अधिनायकवादको कुरा गरिरहेको बताए ।“अरु बेला जनतालाई कहिल्यै नसम्झनेहरुले यतिबेला सडक, नाला, खानेपानी, एम्बुलेन्सको प्रलोभन दिइरहेका छन तर अब जनताले सबैको चरित्र बुझिसकेका छन, उनले भने ।”
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य एवं पूर्व भूमिसुधार मन्त्री हकिकूल्ला खाँले बामपन्थी शक्तिले देशलाई पुँजीवादी समाजवादी क्रान्तिमा लैजान चाहेको बताए । कांग्रेस–राप्रपाले लोकतन्त्रको पाठ सिकाउन जरुरी नरहेको उनको भनाइ थियो ।
त्यस्तै एमाले नेता एवं क्षेत्र नं.३(२) प्रदेशसभा सदस्यका उम्मेदवार तुलसी चौधरीले अहिलेको समयमा गाउँगाउँमा बामगठबन्धन र लोकतान्त्रिक गठबन्धन बीच तुलना भइरहेको बताए । उनले बामपन्थीहरुले कहिल्यै पनि झुटको राजनीति नगरेको बताए ।कार्यक्रम संयुक्त निर्वाचन परिचालन समिति क्षेत्र नं. ३(१) का सह–संयोजक चोपलाल आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७४ सोमबार ००:००  २ : १९ बजे