१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

राष्ट्रिय चर्चाका २ पात्र, हेभिवेट नेताको कस्तो छ राजनितिक पृष्ठभूमी ?



बसन्त गिरी, कपिलवस्तु २८ कार्तिक ।

केन्द्रिय तहसम्म बलियो पहुच भएका कपिलवस्तुका दुई नेताको भीडन्तले कपिलवस्तुको चुनावी माहोल तताएको छ । पार्टी भित्र देखि अन्र्तराष्ट्रिय स्तर सम्म चर्चित मानिने माओवादी नेता चक्रपाणी खनाल (बलदेव) र कांग्रेस नेता दीपकुमार उपाध्याय एक अर्का विरुद्ध चुनावी मैदानमा होमिएका छन् । कपिलवस्तुका ३ वटा प्रतिनिधी सभा निर्वाचन अन्र्तगतको १ मा बामपन्थी गठबन्धनबाट बलदेव र कांग्रेसवाट  उपाध्याय उम्मेद्धवार बनेका छन् । बाम गठबन्धनका कारण एमाले नेताहरुको त्याग र सर्मथनमा बलियो मानिएका बलदेव र त्यस क्षेत्रका पूर्व सभासदलाई समानुपातिकमा थन्क्याएर राजदूत पद त्यागेर उम्मेद्धवार बनेका दीपकुमार बिच नै कडा प्रतिस्प्रधा हुने त्यस भेगका समुदायको आकलन छ । १ लाख १६ हजार ९ सय ३९ मतदाता रिझाउने चुनौतीमा रहेका यी दुई नेताको राजनितिक इतिहास् निकै रोचक छ ।
चक्रपाणी खनाल (बलदेव)

छिमेकी सहित विश्वलाई नै चकित पार्ने बामगठबन्धन गराउन महत्वपूर्ण भूमिका खेल्नुभएका नेता बलदेवले आफ्नो राजनिति कपिलवस्तुबाटै सुरु गर्नुभएको हो । १४ बर्षको उमेरमा २०३४ सालमा राजतन्त्र विरोधी पर्चा अभियानमा लागेर राजनितिमा छिर्नुभएका बलदेवले चर्चित राजतन्त्र विरुद्धको २०३६ सालको विद्यार्थी आन्दोलनको अगुवाई गर्नुभएको थियो । २०३८ सालमा चौ.म.को सदस्यता लिनुभएका बलदेवले २०४३ सालमा पूर्णकालिन कार्यकर्ता भई बामपन्थी आन्दोलनको अगुवाई गर्नुभयो । २०४५ सालमा कपिलवस्तुका ३२ बढि विकासे मुद्धा उठाउन कपिलवस्तु विकास परिषद गठन गरि आन्दोलन गर्नुभएका बलदेव ६ महिना जेल बस्नुभएको थियो ।

२०५० सालमा नेकपा एकता केन्द्रको जिल्ला सेक्रेटरी बन्नुभएका खनाल २०५२ सालमा नेकपा माओवादीको नामबाट सुरु भएको जनयुद्धका विभिन्न मोर्चाहरु सम्हाल्दै २०६१ सालको चुनवाङ बैठकबाट माओवादी सेनाको  डेपुटी कमाण्डर बन्नुभएको थियो । १२ बुंदे विस्तृत शान्ति सम्झौता पश्चात सम्झौताको महत्वपूर्ण पाटो मानिने सेना समायोजनमा अनमिन संग मिलेर विशेष भूमिका निर्वाह गर्नुभएका बलदेव त्यस यता राष्ट्रिय राजनितिको केन्द्रमा रहि काम गर्दै आउनुभएको छ ।

हाल ५५ वर्षका खनाल बाम आन्दोलनमा ४० बर्ष जिवन खर्चिनुभएको नेता हो ।  बलदेवले पंचायतकालमा ५ पटक र जनयुद्ध यता २ पटक पक्राउ परि २ बर्ष सम्म जेलजीवन विताउनुभएको छ । पछिल्लो पटक पुष्प कमल दाहाल प्रधानमन्त्री हुदा बरिष्ट राजनैतिक सल्लाहकारको रुपमा नियुक्त भई कपिलवस्तुकालागि एकैसाथ ५ करोडवढी अतिरिक्त वजेट पार्दै जिल्लाको विकासमा विशेष टेवा पुराउनु भएको थियो ।

कपिलवस्तु विकास कोष गठन ,जगदिशपुरतालमा एकिकृत पर्यटन पूर्वाधार स्थापना,कपिलवस्तुमा बौद्ध विश्व विद्यालयको आंगिक क्याम्पस स्थापना लगायतका काममा आंशिक प्रगती हासिल गर्न सफल नेता वलदेव यतिवेला यस्तै धेरैकाम आगामी दिनमा गर्नकालागि भन्दै चुनावी अभियानमा होमिनु  भएकोछ ।  आसन्न चुनावपछि वामगठबन्धनको सरकार बन्ने निश्चित भै रहेका वखत संभवत गृहमन्त्री वा अन्य महत्वपूर्ण मन्त्रालय नेता खनालले पाउने विष्लेषण हुन थालेकोछ । जनमुक्ति सेनाको कमाण्डर र डेपुटी कमाण्डर भएका अन्य नेताले महत्वपूर्ण मन्त्रालय सहित केहिपटक मन्त्री भैसकेपनि नेता खनाल यसअघि चुनावमा पराजित भएकाले  मन्त्री हुन पाउनु भएन । यसपाली बाम गठबन्धन वनेपछि उहालाई कपिलवस्तु १ वाट चुनाव जित्न सहज हुने आकलनका साथ वाममोर्चाले उम्मेदवार बनाएको हो ।२०७० सालको संविधानसभा निर्वाचनमा १ नम्बर क्षेत्रमा एमाले बाटै पराजित बलदेव अहिले बाम गठबन्धनका साझा उम्मेद्धवार हुनुहुन्छ ।

दीपकुमार उपाध्याय लामिछाने ः 

हालै मात्र भारतका लागि नेपाली राजदूतको पदबाट राजिनामा दिएर कपिलवस्तु १ बाट प्रतिनिधी सभा उमेद्धवार बन्नुभएका उपाध्याय कपिलवस्तुका मात्र नभई नेपाली कांग्रेसका शक्तिशाली नेता हुनुहुन्छ । २०३० सालमा हथौसा गाउँ पंचायतको प्रधानपंच निर्वाचित भई आफ्नो राजनितिक यात्रा सुरु गर्नुभएका नेता उपाध्याय राष्ट्रिय राजनितिमा हैसियत राख्नुहुन्छ । ६७ वर्षीय उपाध्याय २०४८ र २०४९को संसदीय निर्वाचनमा कपिलवस्तु २ बाट विजयी हुनुहुन्थ्यो । उहाँ २०५६को संसदीय निर्वाचनमा पनि नेपाली कांग्रेसका उम्मेदवार बनि तत्कालिन राप्रपाका वृजेश गुप्ताबाट पराजित बन्नुभएको थियो ।

यस अघि २०३८ र २०४३ को राष्ट्रिय पञ्चायत निर्वाचनमा समेत उम्मेदवार रहेका उपाध्याय दुवै पटक ३२ हजारभन्दा वढी मत पाएर पनि भगवानदास गुप्ता संग पराजित हुनुभएको थियो । २०४६ सालमा नेपाली कांग्रेस प्रवेश गर्नुभएका उपाध्यायले अर्थ राज्यमन्त्री र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको कार्यभार सम्हालिसक्नु भएको छ भने  भारतका लागि नेपाली राजदुत बनिसक्नु भएको छ । उपाध्याय काङ्ग्रेस विभाजित भएको वेला नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)मा हुनुहुन्थ्यो ।

राजनैतिक यात्रामा तीन पटक गरी उहाँले चार महीना जेल जीवन बिताउनुभएको छ। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक उपाध्याय राजनीति बाहेक कृषि पेशामा संलग्न समेत हुनु हुन्थ्यो ।उहाँको रुचिको विषय धार्मिक साहित्यको अध्ययनमा छ । उहाँ रोटरी, रेडक्रस, रूपक स्मृति प्रतिष्ठान लगायत विभिन्न सामाजिक संस्थासँग आवद्ध हुनुहुन्छ । कांग्रेसबाट प्रतिनिधी सभा उम्मेद्धवार बन्नुभएका उपाध्याय पुराना नेता भएकाले उहाको व्यक्तिगत सम्बन्धका कारण केहि मत प्रभावित हुन सक्ने र अरु कांग्रेस नेता भन्दा भन्दा लोकप्रिय रहेको केहि मतदाताहरुको विश्लेषण छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७४ मंगलबार ००:००  ४ : १४ बजे