२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

संघर्षबाट प्रगति तर्फ लम्किएकी पत्रकार खटिक सम्मानित



भुपाल थापा, कपिलबस्तु, २ मंसिर ।
पत्रकारिता क्षेत्रमा संघर्षबाट प्रगतितर्फ लम्किएकी कपिलबस्तुका महिला पत्रकार सोना खटिकको जिल्ला सदरमुकाम तौलिहवामा एक कार्यक्रमका बिच सम्मान गरिएको छ । कपिलबस्तुको पहिलो रेडियोको रुपमा स्थापित सामुदायिक रेडियो कपिलबस्तुका स्टेशन म्यानेजरलाई मधेस मिडिया सोसाइटी कपिलबस्तुले तौलिहवामा सम्मान गरेको हो ।

जिल्लाको बुद्धभुमि नगरपालिका साविक बरकुलपुर–७ मटैहवाकी सोना खटिकको आवाज कपिलवस्तु जिल्लाको रेडियोबाट गुञ्जिएको पहिलो महिला आवाज हो । यहाँसम्म आइपुग्न कथित दलित समुदायकी सोनाले गरेको संघर्षले उहाको आवाजलाई महत्वपूर्ण बनाएको छ ।

सम्मान कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा ५ नं. प्रदेश संयोजक बसन्त गिरीले सोना खटिक एक मधेशी, दलित समुदायकी भए पनि उहा रेडियोको प्रत्येक कार्यक्रममा दक्षताका साथ काम गरेकै आधारमा अगाडी आउन सफल भएको बताउनुभयो । पत्रकारिता क्षेत्रबाट पनि बिकासका प्रशस्त संभावना प्राप्त गर्न सकिने हु्ंदा सकारात्मक सोंचका साथ कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै पत्रकार खटिकले समुदाय स्तरिय स्वास्थ्य सम्बन्धि कार्यक्रम उत्पादन तथा प्रसारणमा काम गरे बापत नेपालको विभिन्न रेडियोहरुको प्रतिस्पर्धाबाट आफु छनौटमा परि त्यहाको बस्तुस्थिती बुझ्ने मौका पाएको बताउनुभयो । ६ महिना बंगलादेशमा रहंदा त्यहाको बालबिबाहको अवस्था, सामाजिक परिवेश, सरकारी संयन्त्रको बारेमा समग्र अवस्थाबारे बुझ्न पाएको समेत बताउनुभयो । मधेस मिडिया सोसाइटीका अध्यक्ष मनोज श्रीवास्तवको अध्यक्षता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा ५ नं. प्रदेश संयोजक बसन्त गिरीको प्रमुख आतिथ्यता, मधेसी पत्रकार समाजका केन्द्रिय उपाध्यक्ष बनारसी बर्मा, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मनोज कार्की, माहुरी होमका अध्यक्ष रबि ठाकुर, लगायतको आथ्यिता रहेको थियो । किरणमान बज्राचार्यको स्वागत मन्तब्य रहेको कार्यक्रममा मनोज पौडेल, सरोज अर्याल, तुल्सिराम यादव, लगायतले बोल्नुभएको थियो ।

सोनाले २०६५ मा रेडियो पत्रकारिता प्रशिक्षणमा सहभागी भएर समाचार लेखन र वाचनबाट शुरू भएको उनको संचारयात्रा कार्यक्रम उत्पादन र प्रसारणसम्म विस्तार भएको छ । विश्व सामुदायिक रेडियो संगठन (अमार्क) र एफ.के. नर्बेको सहयोगमा बंगलादेशको रेडियोहरुको अवस्था, कार्यक्रम उत्पादन आदिको विषयमा जानकारी लिन उहां बंगलादेशका लागी संचारदुतका रुपमा छानिनु भएकी थियो । कार्यक्रमको संचालन शम्भु माली शैनीले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २ मंसिर २०७४ शनिबार ००:००  ३ : ५१ बजे