११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

कम्युनिष्टले जितेमा अधिनायकवाद आउँछ भन्नु वैचारिक दरिद्रता : सचिव ज्ञवाली



तम्घास, गुल्मी, ४ मंसिर (रासस) ।
नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले स्थापनाकालदेखि नै नेपालका कम्युनिष्टले लोकतन्त्रका लागि संघर्ष गर्दै आएकाले वाम गठबन्धनले जितेमा अधिनायकवाद आउँछ भन्नु वैचारिक दरिद्रता भएको बताउनुभएको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मी क्षेत्र नं १ को निर्वाचन प्रचारमा रहनुभएका सचिव ज्ञवालीले भन्नुभयो, “नेपाल कम्युनिष्ट पार्टीको जन्म नै राणाशासनको अन्त्यका लागि संघर्ष गर्ने लक्ष्यका साथ भएको थियो । त्यसपछि हामी निरंकुश पञ्चायत र राजतन्त्र विरोधी आन्दोलनमा विना सम्झौता लाग्यौँ । यस्तो शक्ति अलोकतान्त्रिक हुनै सक्दैन ।”

सत्तारूढ नेपाली काँग्रेसका नेताहरूले भने वाम गठबन्धनले बहुमत ल्याएमा लोकतन्त्र खतरामा पर्ने बताउँदै आएका छन् ।

नेता ज्ञवालीले पञ्चायत विरोधी आन्दोलनमा लाग्दा आफ्ना पार्टीका कतिपय नेता डेढ दशकसम्म कारागारमा बस्न बाध्य भएको स्मरण गर्दै आफूहरूले गरेको उक्त दृढताको प्रदर्शनलाई कमजोर नठान्न आग्रह गर्नुभयो ।

एमाले र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकीकरण वार्ता र समन्वयका लागि काम गर्दै आउनुभएका नेता ज्ञवालीले आफूहरूबीच निर्वाचनपछि वैचारिक र छलफल गर्न बाँकी विषय थाती राखेर एकता हुने स्पष्ट गर्नुभयो ।

 

प्रकाशित मिति : ४ मंसिर २०७४ सोमबार ००:००  १२ : ४२ बजे