८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आचार संहिता विपरित टागिएका प्रचार सामाग्री हटाउन थालियो



दीपा महत, कपिलवस्तु, ४ मंसिर ।
निर्वाचन आचार संहिता विपरित सार्वजनिक स्थलमा राखिएका प्रचार सामाग्री कपिलवस्तुमा आइतबार देखि हटाउन शुरु गरिएको छ । निर्वाचन आचार संहिता विपरीत प्रचार–प्रसार सामग्री सार्वजनिक स्थानमा झुण्ड्याएको व्यापक जनगुनासो आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यलय र स्थानीय प्रशासनले हटाउन थालेको हो ।
निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनका कर्मचारीले पूर्व पश्चिम राजमार्गका विभिन्न विजुलीका पोल, प्रतिक्षालय, मुख्य बजारका चोकहरुमा टाँगिएका होर्डिङ्ग बोर्ड, तुल ब्यानर तथा पोष्टरहरु हटाएका हुन ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र मुख्य निर्वाचन अधिकृतको कार्यालयले गत शुक्रबार मौखिक रुपमा दलका उम्मेदवारलाई हटाउन सचेत गराएको थियो । तर राजनीतिक दलले अटेरी गरेपछि आफ्नै सकृयतामा प्रचार सामाग्री हटाउन थालिएको हो । आइतबार जिल्लाको चारनम्बर, गजेहडा, ओदारी, पतरिया लगायतको स्थानमा प्रचार सामग्री हटाएको निर्वाचन अनुगमन अधिकृत लेखनाथ अर्यालले बताउनुभयो ।
तीन प्रतिनिधि सभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कपिलवस्तु जिल्लामा ३ लाख ११ हजार ७ सय ६० मतदाता रहेका छन् । साथै ९ पदका लागि जिल्लामा २४ दल र स्वतन्त्र गरि १ सय ८१ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७४ सोमबार ००:००  ३ : ३४ बजे