१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बुद्धभुमिको तीन वडा बालविवाह मुक्त वडा घोषणा



नन्दराम पौडेल, कपिलवस्तु, ६ मंसिर ।
बुद्धभुमि नगरपालिकाका तीन वटा वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसर पारेर साविक बरकुलपुर, बुढ्डी र राजपुर गाविसलाई एक समारोहका विच बालविवाह मुक्त वडा घोषणा गरिएको हो । नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले बालसंरक्षण समितिले यस वर्ष संकलन गरेको तथ्याक प्रस्तुत गर्दै नगरपालिकाका वडा नम्बर ९, वडा नम्बर ४ र वडा नम्बर ५ लाई बाल विवाह मुक्त वडाहरुको रुपमा घोषणा गर्नुभएको थियो ।
बुद्धभुमि नगरपालिकाको आयोजना तथा सेभ द चिल्डेनको सहयोग तथा सनसाईन सामाजिक संस्थाको सहयोगमा वडा न ४ र ५ तथा कालिका सामाजिक विकास संस्थाको सकृयतामा वडा न ९ मा बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।
उक्त वडामा भएको विवाहको तथ्याक हेर्दा विगत ३ वर्ष यता बालविवाह क्रमिक रुपले कमि हुदै ९० प्रतिशत भन्दा बढी युवायुवतिले २० वर्ष उमेर पुगेर विवाह गर्ने गरेकोले उक्त वडाहरुलाई बालविवाह मुक्त वडा घोषणा गरिएको वडा अध्यक्षहरुले प्रतिबेदन सहित जानकारी गराएका थिए ।
विभिन्न गैरसरकारी संस्था, प्रत्येक वडाहरुमा बालकल्व, युवा कल्व, वालअधिकार संरक्षण समिति मार्फत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएकोमा बाल विवाह मुक्त अभियान सफल भएको वडा न ९ का वडा अध्यक्ष खुमानन्द न्यौपानेले बताउनुभयो ।
उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनाल, बुद्धभुमि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याय, वडाअध्यक्ष, नेपाल पकार महांसघका अध्यक्ष डिलाराम भुसाल, इन्सेक प्रतिनिधि नन्दराम पौडेल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले बालविवाह अन्तका लागी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । साथै मैले वाल विवाह विरुद्धमा आवाज उठाउछु भन्दै कसम पनि खानुभएको थियो ।
केही बर्ष यता सिंगो जिल्लामा बलविवाह मुक्त बनाउन अभियान सञ्चालन हुदै आएको छ । स्थानीय चुनाव अघि जिल्लाको दक्षिणी गाविस अविरावलाई बालविवाह मुक्त गाविस घोषणा गरिएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७४ बुधबार ००:००  ४ : ४४ बजे