१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कम्युनिष्ट जनताका असली सेवक हुन – विष्णु पंथी



मायादेवी अनलाइन, कपिलवस्तु, ९ मंसिर ।
कपिलवस्तु प्रदेशसभा १ का बामगठबन्धनका साझा उम्मेदवार विष्णु पंथीले राष्ट्रियता, स्वाधिनता र जनजिविकाको सवालमा कम्युनिष्ट पार्टीले बाहेक अरु कुनै पार्टीले काम गर्न नसकेको बताउनुभएको छ । देशमा कम्युनिष्ट पार्टीले निकै कम समय सरकारको नेतृत्व गर्ने अवसर पाएको स्मरण गर्दै उम्मेदवार पंथीले कांग्रेसले पटक पटक सरकारको नेतृत्व गरेपनि केही गर्न नसकेको बताउनुभयो । जनताले तत्काल विकास चाहेकोले त्यो चाहना पुरा गर्ने काम कम्युनिष्ट सरकारले मात्र गर्न सक्ने बताउनुभयो । वाणगंगा नगरपालिका वडा नम्बर ४ गजेहडा क्षेत्रमा शनिबार घरदैलो गर्दै उहाले बर्गिय, जातीय उत्पिडित बर्ग समुदायको हक अधिकारीको निम्ति बलिदानी पूर्वक संघर्ष गर्ने एक मात्र पार्टी कम्युनिष्ट भएको बताउनुभयो । मुलुकमा समृद्धि, सुशासन र समतामुलक समाज निर्माणको महाअभियान शुरु भैसकेको भन्दै अब बामपंथीको सरकारलाई कसैले पनि चाहेर पनि रोक्न नसक्ने ठोकुवा गर्नुभयो ।

सयौ सर्वसाधारणको उपस्थिती रहेको उक्त कार्यक्रममा नेकपा माओबादी केन्द्रका नेता तथा समानुपातिक तर्फका उम्मेदवार गिरीधारीलाल न्यौपानेले कम्युनिष्ट पार्टी नै जनताको असली सेवक भएको बताउनुभयो । आफुहरु सधै बर्गीय मुक्तिको लागि संघर्ष गर्दै आएको भन्दै नेता न्यौपानेले कांग्रेसी विचारले मुलुकलाई समृद्धिको दिशामा लैजान नसक्ने बताउनुभयो । सधै मोज, मस्ती र विलासीलताको जीन्दगीमा रमाउन चाहनेहरुले कम्युनिष्ट विचारलाई गलत अर्थ लगाउन नसुहाउने बताउनुभयो ।

कार्यक्रममा एमाले नेतृ तथा समानुपातिक तर्फकी उम्मेदवार रीता थारुले मधेसी, थारु, आदीबासी जनजातीको हक अधिकारको लागि कम्युनिष्ट पार्टी बाहेक अरु कुनै पार्टी नलडेको प्रष्टाउनुभयो । दुईचार जना पूजीपतिलाई बोक्दैमा जातीय उत्थान नहुने भन्दै कम्युनिष्टले बाहेक अरु कुनै पार्टीले थारु, मधेसी, महिला, दलितहरुको उत्थान गर्न नसक्ने बताउनुभयो ।

घरदैलो कार्यक्रममा बामपंथी विचारधाराका कलाकारले गीत, संगित मार्फत भोट मागेका थिए । जनबादी कलाकारहरुले कम्युनिष्ट सधै जनताको विचमा रहने भन्दै पूजीवादी व्यवस्था हटाई समाजबादी व्यवस्थाको लागि कम्युनिष्ट पार्टीका उम्मेदवारलाई जिताउन आह्वान गरेका थिए ।

यसैविच बामगठबन्धनका प्रतिनिधिसभा १ का उम्मेदवार चक्रपाणी खनाल बलदेव शनिबार दक्षिणी गाउँहरुमा केन्द्रित रहनुभएको छ । प्रदेशसभा २ का उम्मेदवार फैजल खाँ लगायत संग प्रतिनिधिसभा १ का उम्मेदवार बलदेव दक्षिणी गाउहरुमा घरदैलो गर्नुभएको हो । घरदैलोको क्रममा उहालाई सयौ सर्वसाधारणले फूलमाला, अविर लगाई स्वागत गरेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  २ : १३ बजे