१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

स्थायी लोकतान्त्रिक व्यवस्थाका लागि कांग्रेसको विकल्प छैन: देउवा



बुटवल, ९ मंसिर ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थायी लोकतान्त्रिक व्यवस्थाका लागि कांग्रेसको विकल्प नभएको दाबी गर्नुभएको छ । अहिलेको समय लोकतन्त्र र कम्युनिष्ट शासन रोज्ने भएकाले निर्वाचनबाट लोकतन्त्रको पक्षमा उभिन उहाले जनतालाई आग्रह गर्नुभएको छ । रुपन्देहीको देवदहमा आज आयोजित चुनावी सभामा बोल्दै देउवाले विदेशी राष्ट्रले समेत कांग्रेसलाई पत्याउने भएकाले आर्थिक विकास गर्न सक्ने दाबि गर्दै कांग्रेसका उम्मेद्वारलाई जिताउन मतदातालाई आग्रह गर्नुभयो ।
कतिपय विदेशी मुलुकमा कम्युनिष्ट शासन अन्त्य भइरहेको अवस्थामा नेपालमा कम्युनिष्ट शासन ल्याउने प्रयास भइरहेको भन्दै त्यसलाई जनताले परास्त गर्ने देउवाले जिकिर गर्नुभयोे । लोकतन्त्र रोज्ने कि डर त्रासको शासन रोज्ने समय आएको भन्दै उहाले लोकतन्त्रको पक्षमा उभिएर समृद्ध मुलुक निर्माणमा लाग्न मतदातालाई आग्रह गर्नुभयो ।
मुलुकमा लोकतन्त्र ल्याउनका लागि कांग्रेसले महत्वपूर्ण आन्दोलन गरेको भन्दै उहाले कांग्रेसलाई पाखा लगाउने सपना नबुन्न विपक्षीहरुलाई आग्रह गर्नुभयो । गाउका सडक निर्माणदेखि देशको अर्थतन्त्र विकासको काम कांग्रेसले गरिरहेको भन्दै उहाले मुलुकमा आर्थिक समृद्धि कांग्रेसबाटै सम्भव रहेको दावि गर्नुभयो ।
देउवाले गौतम बुद्धको मावली देवदहको विकास कांग्रेस नेतृत्वले मात्रै गर्न सक्ने बताउनुभएको छ । लुम्बिनी संगै देवदहको विकास अपिरहार्य भएको भन्दै उनले यसको विकासका लागि आफूले चासो दिएको समेत बताउनुभयो ।
कार्यक्रममा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको शासन नेपालमा आउनै नसक्ने दावि गनुुभएको छ । जनता लोकतन्त्रको खिलापमा कहिल्यै जान नसक्ने दावि गर्दै उहाले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताएर लोकतन्त्रलाई सुरक्षित गर्न आग्रह गर्नुभयो । पश्चिम नवलपरासीको सुनवलमा चुनावी सभा सम्बोधन गर्न आउनुभएका देउवा अकत्मात रुपमा रुपन्देहीको देवदहमा आउनुभएको हो ।

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  २ : २० बजे