८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बामगठबन्धनको चुनावीसभामा उर्लियो जनसागर



सीताराम चौधरी, चन्द्रौटा, १३ मंसिर ।
संयुक्त बामगठबन्धन कपिलवस्तु क्षेत्र नम्बर ३ ले जिल्लाको कृष्णनगर का झिङहा चौराहामा भव्य आमसभा सम्पन्न गरेको छ ।
आमसभास्थलमा जनसागर नै उर्लिएको थियो । जनमानसको निकै भीडभाड बढेको थियो कि त्यहाँ मानिस अट्ने ठावैं थिएन । आमसभास्थलमा पाँच हजार बढीको उपस्थिति रहेको थियो । बामगठबन्धनप्रति जनताको आकर्षण बढ्दै गएपछि विभिन्न पार्टी परित्याग गरी एक हजार बढी स्थानीय नेता तथा कार्यकर्ता बामगठबन्धनमा प्रवेश गरे ।
विजयनगर गाउँपालिकाको वडा नं. ७ मा संघीय समाजबादी फोरमबाट निर्वाचित जनप्रतिनिधि महिला सदस्य सुदामा लोनिया, लोकतान्त्रिक फोरमबाट निर्वाचित सदस्य सुरेन्द्र कुमार चौधरीले बामगठबन्धनमा सामेल भएका छन् । उनीहरु दुई मात्र होइन स्थानीय तहमा विजयनगनर ७ मा राप्रपाबाट वडाध्यक्षका उम्मेदवार तुल्सीराम चौधरी, वडाध्यक्षका स्वतन्त्र उम्मेदवार कयूम मिया, वडाध्यक्षकै स्वतन्त्र उम्मेदवार हनुमान यादव, कृष्णनगर नगरपालिका ८ बाट सदस्य पदका स्वतन्त्र उम्मेदवार बब्बु चौधरी समेत बामगठबन्धनमै प्रवेश गरेका छन् । त्यस क्षेत्रका स्थानीय नेपाली कांग्रेसका नेता बिरबहादुर थामी, सीता लोनिया लगायत नेपाली कांग्रेस र मधेशी दल परित्याग गरी एक हजार बढी नेता तथा कार्यकर्ता बामगठबन्धनमा प्रवेश गरेको बिजयनगर गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष एवं एमाले स्थानीय नेता दिनेश चौधरीले जानकारी दिए । बामगठबन्धनप्रति जनलहर बढ्दै गएपछि आफूहरु बामगठबन्धनमा प्रवेश गरेको नव प्रवेशीहरुले बताएका छन् । नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई एमाले नेता खिमलाल भट्टराई, प्रतिनिधिसभा उम्मेदवार ईश्वर दयाल मिश्र, प्रदेशसभा उम्मेदवार जावेद आलम खाँले टीका लगाई प्रवेश गराएका थिए । नवप्रवेशीको संख्या अधिक रहेकाले उनीहरुलाई टीका लगाउन हम्मेहम्मे परेको थियो ।
आमसभालाई सम्बोधन गर्दै कपिलवस्तुको क्षेत्र ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ईश्वर दयाल मिश्रले मौसमी नेतालाई भोट नदिन मतदाताहरुलाई आग्रह गरेका छन् । चुनावको बेला मात्र जनताको घरदैलोमा पुग्ने नेताहरुलाई जिताएमा चुनावपछि देख्न पनि नसकिने धारण राखेका थिए । कपिलवस्तुको विकास र जनतासँग घुलमिल भएर जनताका समस्या वुझेका व्यक्तिलाई भोट दिई जिताउन नेता मिश्रले अपिल गरे । जनताको समस्या वुभ्mने व्यक्तिलाई बामगठवन्धनले उम्मेदवार वनाएको भन्दै वाम उम्मेदवारहरुलाई जिताउन मतदाताहरुलाई उनले आग्रह गरे ।
नेता मिश्रले देशमा बामको लहर चलेको वताउँदै देश समृद्ध र विकास वामगठवन्धनले मात्र गर्न सक्ने दावी गरे । चुनावको बेला जनताको घरदैलोमा पुगी खुट्टा ढोक्ने तर अन्य बेला बेवस्ता गर्ने नेतालाई जनताले भोट नदिने भन्दै अव जनता सचेत भएको उद्घोष गरे । नेता मिश्रले आफू मन्त्री रहँदाको समयमा कपिलवस्तुलाई विकासको गतिले तिव्रता पाएको बताए । बामगठवन्धनले मधेशी, पहाडी, हिन्दू, मुस्लिम सवैलाई समानुपातिक दृष्टिले हेर्ने गरेको समेत उनले धारणा राखे । नेता मिश्रले कपिलवस्तुको क्षेत्र ३को विकासको योजना आफूसँग रहेकाले चुनाव जितेपछि जनताले महसुस गर्ने खालको विकास गर्ने प्रतिवद्धता जाहेर गरे ।
त्यस्तै कार्यक्रममा वोल्दै कपिलवस्तु क्षेत्र ३ प्रदेशसभा २ का उम्मेदवार जावेद आलम खाँले आफूले बोलेर भन्दा काम गरेर देखाउने उद्घोष गरे । नेताहरु बोल्ने मात्र गरेको तर आफू नेता नभई जनताको भाइसाथी रहेको र काम गर्ने व्यक्ति भएको वताए । कपिलवस्तुको क्षेत्र न ३ मा जितेका नेताहरुले केही विकास गर्न नसकेको खाँले आरोप समेत लगाए । सवैलाई समान व्यवहार सहित गरीब, किसान, बेरोजगार, शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने योजना वनाएकाले बामगठबन्धनलाई जिताउन आग्रह गरे ।

प्रकाशित मिति : १३ मंसिर २०७४ बुधबार ००:००  १२ : ३४ बजे