१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कांग्रेसले जिते देशमा आर्थिक समृद्धि : विनोद चौधरी



कपिलवस्तु, १३ मंसिर ।
नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले देशमा औद्योगीकरणको लहर चलाएर विदेशिएका युवालाई स्वदेश फर्काउने आफ्नो चाहना रहेको बताएका छन् ।

कपिलवस्तुको तौलिहवामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले उक्त चाहना सवै नेपालीको चाहना भएकाले त्यसलाई साकार पार्न आफू प्रयत्नशील रहेको स्पष्ट पारे । २०४८ सालमा नेपाली कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिले २०४८ देखि २०५१ सम्मको अवधिमा देशले विकासको दौरानमा ठूलो फड्को मारेको भए पनि त्यसपछिको राजनीतिक अस्थिरताले जनताको आर्थिक समृद्धि र विकासको चाहना पूरा हुन नसकेको चौधरीले बताए ।

‘आर्थिक उदारीकरणको नीतिलाई उचित ढंगले कार्यान्वयन गरिरहन पाएको भए आज ४३ लाख नेपाली कामका लागि विदेश जानुपर्ने अवस्था आउने थिएन’ चोधरीले भने । त्यसपछिको राजनीतिले बाटो बिराउँदा जनचाहना अनुरुप आर्थिक समृद्धि र विकास हासिल हुन नपाएको उनले बताए । तत्कालीन समयमा कांग्रेसले लिएको आर्थिक नीतिको धरातलमा उभिएर आज सम्म पनि न्यून मात्रामै भएपनि विकासका काम हुन सम्भव भएको उनले दोहोर्याए ।

देशको आर्थिक वृद्धिदर हालसम्मकै उच्च रहनु, नेपाल सिमेन्टमा आत्मनिर्भर हुनु, तीन हजार मेगावाटभन्दा बढीका पावर प्लान्ट निर्माण हुनु, तीन÷तीन ओटा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा रहनु जस्ता कुराहरु सोही आर्थिक नीतिको देन भएको उनले दाबी गरे ।
बलियो अर्थतन्त्रका लागि स्थीर सरकार आवश्यक गर्ने र लोकतन्त्रमा मात्र अर्थतन्त्र बलियो हुने भएकाले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुको विकल्प नरहेको चौधरीले बताए । निर्वाचन प्रचार प्रसारको सिलसिलामा मंगलबार तौलिहवामा पुगेका चौधरीले जनचाहना साकार पार्नका लागि नेपाली कांग्रेस नै सक्षम पाटी भएको दाबी गरे ।

नेपाली कांग्रेसको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक समेत रहेका चौधरीलाई पार्टीले आर्थिक समृद्धि र विकासका लागि मतदातालाई बुझाउने जिम्मेवारी दिएको छ । स्थानीय निकायको निर्वाचन सम्पन्न भएर जनताका हातमा अधिकार गइसकेको अवस्थामा आर्थिक क्रान्तिको दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

प्रकाशित मिति : १३ मंसिर २०७४ बुधबार ००:००  ३ : ०१ बजे