१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

१६ दिने अभियानमा महिला समूहद्वारा सम्मान तथा विदाई



सीताराम चौधरी, चन्द्रौटा, १५ मंसिर ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा जनजागृति महिला विकास समूहले एक कार्यक्रमको आयोजना गरी समूहका जेष्ठ नागरिक तथा शिवराज नगरपालिकाका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
कार्यक्रमको अवसरमा समूहले समूलाई स्थापना गरी यहाँसम्म ल्याई पु¥याउन अहम भूमिका खेल्ने दुई जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा ९६ वर्षीय तुलसा भुसाल र ७९ वर्षीय देवीतारा कुँवर रहेका छन् । यसैगरी अन्यत्र बसाई सराई गरी जाने समूहका भाइमाया गुरुङ, इन्द्रा गुरुङलाई तथा मृतक सदस्यकी छोरी लिला अधिकारीलाई कार्यक्रमका बीच विदाई समेत गरेको छ ।
कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले आर्थिक समृद्धिका लागि महिलाहरु समूहमा आबद्ध हुनुपर्नेमा जोड दिए । उनले अहिले महिलाहरु हरेक क्षेत्रमा अघि बढीसकेका जनाउँदै गाउँगाउँमा सशक्तिकरणका कार्यक्रम विस्तार गर्न आवश्यक रहेको बताए । नगरप्रमुख अधिकारीले आफू र सम्पूर्ण जनप्रतिनिधिलाई यहाँसम्म पु¥याउन सम्पूर्ण समुदायको प्रमुख योग्दान रहेको बताउँदै नगरपालिकाबाट हुने हरेक सेवा सुविधा सम्पूर्ण नागरिकको साझा सम्पत्ति रहेको जिकिर गरे । आफू त सबैको सहयोगी रहेको र हरेक काममा आफूले पुलको काम गर्ने समेत उनले उद्घोष गरे ।
महिलामा क्षमताको विकास भएको औल्याउँदै नगरप्रमुख अधिकारीले अब महिलाहरु गाउँमै मात्र सीमित नभएर हरेक निकायमा प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा शान्ति पुनस्र्थापना गृह कृष्णनगरका संयोज भूमिराज भट्टराईले महिलाहरु विभिन्न कारणले हिंसामा परेको जनाउँदै महिलाको हकअधिकार प्राप्तीका लागि सबैमा सकारात्मक सोंचको विकास गर्नुपर्ने बताए । उनले कार्यक्रममा १६ दिने महिला हिंसा विरुद्ध अभियानको बारेमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए । यसैगरी कार्यक्रममा शिवराज नगरपालिका वडा नं. ३ का वडाध्यक्ष टेकलाल सापकोटा, वडा नं. ११ का वडाध्यक्ष रामेश्वर बर्मा लगायतले महिलाहरुको अधिकारको सवालमा आफूहरु गम्भीर रहेको बताउँदै आफूबाट हुने सम्पूर्ण किसिमको सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
समूहलाई छोडेर अन्तै बसाईं सराई गरेर जान लागेकी भाइमाया गुरुङले कार्यक्रममा निकै भावुक हुँदै सबैको मन छुने धारणा राखेपछि समूहका सबैको आँखा रसाएका थिए । आफू समूह छोडेर गएपनि आफ्नो मन सधैं यहीं रहने मार्मिक कुरा राख्दै गर्दा आफ्नै मन थाम्न सकिनन् । उनी आफैं भावुक भएपछि त्यहाँको माहोल नै एकछिन सन्त्रासमय बनेको थियो । उनले गाउँ बनाउन पछि नहट्नु भनेर सुझाव दिएकी थिइन् ।
समूहकी अध्यक्ष चन्द्रकला पौडेलले कार्यक्रमका बीच निकै समस्या झेल्दै यहाँसम्म आइपुगेको बताएकी थिइन् । सबै महिला दिदीबहिनीहरुको उत्साह, सहयोग र सहकार्यले नै आफूमा जोस जाँगर आएको बताउँदै उनले समूहलाई नमूना बनाउन पहल गर्ने बताएकी थिइन् । वि.सं. २०५४ सालमा रु १० बाट बचत शुरु गरेको समूहमा अहिले एक सय का दरले बचत गर्ने भइसकेको उनले बताइन् । हाल समूहमा ९३ जना महिलाहरु आबद्ध रहेको उनले जनाइन् । हरेक विवाह, पूजाआजा लगायतका शुभकार्यमा सांस्कृतिक कार्यक्रम गरी समूहमा कोष संकलन गर्दै आएको जनाउँदै उनले समूहकै अगुवाईमा बाटो निर्माण, वृक्षरोपण लगायतका कार्य गरेको समेत उनले उद्घोष गरिन् । समूहमा आबद्ध भएपछि बचत मात्र नभई महिला हिंसा, महिलाहरुको क्षमता विकास, आयआर्जन लगायतका क्षेत्रमा काम गरेका छौं उनले भनिन् । अहिले त्यहाँका महिलाहरु संगठित भई सामुहिक कार्यमा अघि बढेको र परम्परागत संस्कृतिको जगेर्नामा समेत लागेको उनले बताइन् ।

 

प्रकाशित मिति : १५ मंसिर २०७४ शुक्रबार ००:००  ३ : ०८ बजे