६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

देशमा कम्यूनिष्टको किल्ला बनाई चमत्कार ल्याउँछौ : रायमाझी



सीताराम चौधरी, चन्द्रौटा, १५ मंसिर ।
बामगठबन्धन अब एक पार्टी र एक निर्बाचन चिन्ह लिएर अघि बढ्ने पूर्व उपप्रधान तथा स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले उद्घोष गर्नुभएको छ ।
सबै बामपन्थीहरु एकजुट हुनु इतिहासकै आवश्यकता भएको औल्याउँदै स्थिर सरकार, समृद्धि र विकासको लागि आगामी दिनमा एउटै पार्टी हुने बताउनुभएको हो । चुनावी प्रचारका लागि आफ्नो चुनावीक्षेत्र दोबाटा, लाँपेतर्फ जानेक्रममा कपिलवस्तुको चन्द्रौटामा संयुक्त बामगठबन्धनको कार्यालयमा भेटघाटका क्रममा अर्घाखाँची जिल्लाको प्रतिनिधिसभा उम्मेदवार रायमाझीले अब बामपन्थीहरु एक ढिक्का भएका अघि बढ्ने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो –“अब ढुक्क हुनुहोस् हामी बामपन्थी एक भइसक्यौं ।” बामपन्थीहरुको फुटकै कारण अवसरबादीहरुले फाइदा उठाएको बताउँदै पूर्व उर्जामन्त्री समेत रहनुभएका माओबादी नेता रायमाझीले देशमा कम्यूनिष्टको किल्ला बनाई संसारमै चमत्कार ल्याउने दाबी समेत गर्नुभयो ।
यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा बामगठबन्धनको अत्यधिक बहुमतको ग्यारेन्टी भएको दाबी गर्दै नेता रायमाझीले अब दुई तिहाई बहुमतको लागि कसरतमा जुट्नुपर्ने नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । बामपन्थीहरुलाई एकजुट ल्याउन आफूले देशमा शान्ति प्रक्रिया आएदेखि कसरत गरेको तर अहिले बल्ल एकसुत्रमा बाँध्न सफल भएको उहाँले उद्घोष गर्नुभयो । देशमा स्थायी सरकारको आवश्यकता रहेको बताउँदै नेता रायमाझीले राजनीतिक स्थिरता, शान्ति र समृद्धिका लागि बामएकता भएको औल्याउनुभयो ।
कार्यक्रममा अर्घाखाँची प्रदेशसभा २ का उम्मेदवार रामजी प्रसाद घिमिरेले चुनाव लड्ने पार्टीको निम्ति यो अन्तिम युद्ध भएको बताउँदै अत्यधिक बहुमतले जीत हासिल गर्न सबै नेता कार्यकर्ताहरु लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का संयुक्त बामगठबन्धन निर्वाचन परिचालन कमिटी संयोजक सफर अलि, शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, एमाले नेता क्षेत्रबहादुर खत्री लगायतले कपिलवस्तुको समसामयिक विषयमा धारणा राखेका थिए ।

 

प्रकाशित मिति : १५ मंसिर २०७४ शुक्रबार ००:००  ३ : १३ बजे