८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्यूठानमा पोख्रेल र दुर्गा बिच रोचक प्रतिस्पर्धा



प्यूठान, १६ मसिर ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ भिड्ने महिला नेतृहरुको संख्या एकदमै न्यून छ । थोरै महिला उम्मेदवारहरुमध्ये पनि भूकम्प पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोख्रेलसँग भिड्न मैदानमा उत्रिने साहसी महिला दुर्गा पौडेलको उपस्थिती प्यूठानमा भएपनि मुलुकभर सर्वत्र चासोको विषय बनेको छ ।
भूकम्प पुनर्निर्माण प्राधिकरणको सिइओ पदबाट राजीनामा दिएर चुनाव लड्न आएका डा. गोविन्द पोख्रेलको प्रतिष्पर्धी बनेकी दुर्गा पौडेलबारे एक्कासी चर्चा चुलियो । चर्चा यस अर्थमा पनि चल्यो कि उनी नेपाली कम्युनिष्ट आन्दोलनका एक धरोहर मोहनविक्रम सिंहकी पत्नी हुन् । जेसुकै कारणले चर्चा चलेको भए तापनि दुर्गा एक्कासी चर्चामा आएकी भने होइनन् । लामो राजनीतिक पृष्ठभूमि र संघर्षबाट खारिएकी महिला नेतृ हुन् दुर्गा ।
ठूलाठूला कम्युनिष्ट हस्तीहरु जन्माउने प्यूठानले दुर्गालाई मोहनविक्रम सिंहको पत्नी भएकै कारणले त्यति सजिलै साझा वाम उम्मेदवारको रुपमा स्वीकारेको पक्कै होइन । उनको लामो सक्रिय राजनीतिक जीवनको पृष्ठभूमि र संघर्षकै कारण उनी प्यूठानबाट प्रतिनिधिसभामा वाम गठबन्धनको साझा उम्मेदवार बनेकी हुन् ।
त्यसो त दुर्गा पौडेल यतिबेला एमाले, माओवादी र जनमोर्चाको तर्फबाट साझा उम्मेदवारको रुपमा चुनावी अभियानमा हुनुहुन्छ । गत स्थानिय तह निर्वाचनमा यि तिन ओटा दलले पाएको मत र कांग्रेस तथा राप्रपाले पाएको मत जोड्दा दुर्गा ४३ हजार बडी मतअन्तरले विजयी हुने तथ्यले देखाएको छ ।
यति ठुलो मतान्तरले अगाडी रहेकी महिला उम्मेदवार सम्भवत नेपालमै पहिलो दुर्गानै हुन सक्ने विष्लेषण हुन थालेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७४ शनिबार ००:००  २ : ३७ बजे