१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पाल्पाका उम्मेदवार भोट माग्न घरदैलोमा व्यस्त



पाल्पा, १६ मंसिर ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन ६ दिन मात्र बाकी रहदा विभिन्न दलका उम्मेदवार भोट माग्न मतदाताका घरदैलोमा व्यस्त बनेका छन । पाल्पामा वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मतदाताका घरदैलोमा व्यस्त छन् ।

पाल्पा निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका लागि दुवै निर्वाचन क्षेत्रमा वाम र लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारले खानेपानी, सडक, शिक्षा र रोजगारीका समस्या समाधानका लागि आश्वासन दिँदै भोट माग्दै आएका छन् ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेय र नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरिप्रसाद नेपाल यतिबेला भिन्नभिन्नै स्थानमा चुनावी कार्यक्रममा सक्रिय हुनुहुन्छ । पाण्डेय र नेपाल पाल्पा निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । दुवै उम्मेदवारले तानसेनको खानेपानी समाधान र सिद्धबाबाको सडक सुरुङमार्ग निर्माणलाई पहिलो प्राथमिकतामा पारेको बताउनुभएको छ ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र १ का वाम गठबन्धनका प्रनितिधिसभा सदस्यका उम्मेदवार दलबहादुर रानाले पूर्वी पाल्पाको रामपुर नगरलाई आधुनिक शहर बनाउने एजेण्डा अघि सार्नुभएको छ ।

नेपाली काँग्रेसको महासमिति सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयराज घिमिरेले रामपुरका आधारभूत समस्या समधानका लागि आफू सधैँ लागिरहनेमा जोड दिनुहुन्छ । कृषि तथा पशुपालन व्यवसायमा युवा युस्ताको आकर्षण बढाउने अनुदानको व्यवस्था मिलाउने कुरा उहाँले गर्दै आउनुभएको छ ।

विसं २०७० को संविधानसभाको निर्वाचनका आधारमा वाम गठबन्धनका उम्मेदवार पाल्पाका दुवै निर्वाचन क्षेत्रमा बलियो देखिएका छन् ।

दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा स्थानीय तह २०७४ को निर्वाचनमा दलका अध्यक्ष पदका उम्मेदवारको कूल मत जोड्दा काँग्रेसले ४७ हजार २०३ मत ल्याउन सफल भएको थियो ।

नेकपा एमाले ५४ हजार ९४ मत र नेकपा माओवादी केन्द्रले १६ हजार २६६ मत ल्याएको थियो । उक्त मतका आधारमा वाम गठबन्धनको ७० हजार ३६१ मत देखिन्छ । मत परिणमको आधारमा काँग्रेसको भन्दा २३ हजार १५८ मतले वाम गठबन्धन पाल्पामा अघि रहेको देखिन्छ । (रासस)

प्रकाशित मिति : १६ मंसिर २०७४ शनिबार ००:००  २ : ४३ बजे