१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

निर्वाचन सामग्री कपिलवस्तुमा गाउँ–गाउँ जाँदै



कपिलवस्तु, १९ मंसिर ।
मंसिर २१ गते हुने निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री कपिलवस्तुमा सोमबारदेखि धमाधम गाउँ–गाउँ पठाउन थालिएको छ । सदरमुकाम तौलिहवादेखि लामो दूरीमा रहेको र दुर्गम मानिने मतदानस्थलमा निर्वाचन सामग्री सुरक्षा घेरामा राखेर लैजाने काम भएको जिल्ला निर्वाचन अधिकारी ज्ञानहरि घिमिरेले जानकारी दिनुभयो ।

सदरमुकाम तौलिहवाबाट सबैभन्दा टाढा दक्षिण–पश्चिममा विजयनगर गाउँपालिकाको मतदानस्थल पर्छ । त्यस्तै शुद्धोद्धन गाउँपालिका, कृष्णनगर नगरपालिका लगायतका स्थानमा निर्वाचन सामग्री पठाइएको छ ।

निर्वाचन अधिकारी घिमिरेले मतपेटिका, मतपत्र, परिचयपत्र, स्वस्तिक छाप लगायतका विभिन्न ६४ प्रकारका निर्वाचन सामग्री गाउँ–गाउँ पठाइएको उल्लेख गर्दै परिचयपत्र वितरणको काम मंगलबारदेखि नै शुरु गरिने बताउनुभयो । ६ नगरपालिका र चार गाउँपालिका रहेको कपिलवस्तुमा कूल तीन लाख ११ हजार ७६० मतदाता रहेका छन ।

तीमध्ये पुरुष एक लाख ६९ हजार ४६४ र महिला एक लाख ४२ हजार २९४ छन भने तेस्रोलिङ्गी दुईजना रहेका छन । यसमध्ये २५ हजार २१२ नयाँ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, कपिलवस्तुले जनाएको छ । तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा मतदान केन्द्र ४१० र मतदानस्थल २३३ रहेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख १६ हजार ९३७, प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख दुई हजार ४२० र प्रतिनिधिसभा क्षेत्र नं ३ मा सबैभन्दा थोरै ९२ हजार ४०३ मतदाता रहेका छन् । तीन निर्वाचन क्षेत्रमा कूल ९६ वडा छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७४ मंगलबार ००:००  ३ : ४५ बजे