७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मतदाता शिक्षा दुरदराजमा पुगेन, यसपालि पनि बदर मत घटाउन चुनौती !



मायादेवी अनलाइन, कपिलवस्तु, २० मंसिर ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा बदर मत कम गर्न यहाँ चुनौती देखिएको छ । गत स्थानीय निकायको निर्वाचनमा प्रमुख पदमा २८ प्रतिशत मत बदर भएको थियो । त्यस बेला पनि मतदाता शिक्षा संचालन गरिएको थियो । तर बदर मतको प्रतिशतले सो कार्यक्रम खासै प्रभावकारी देखिएको थिएन । आसन्न निर्वाचनमा बदर मत घटाउनकै लागि मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको छ । तर सोचे जस्तो प्रभावकारी भने हुन सकेको छैन । चुनाव आउँन अब १ दिन मात्र बाँकी रहदा मतदाता शिक्षा दुरदराजमा अझै पुगेको छैन ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउन कपिलवस्तुका विभिन्न सार्वजनिक स्थल, विद्यालय र चोकचोकमा सहजकर्ताले सामाग्री पोष्टर, पम्पलेट टाँसेपनि सवै मतदाताको घरघरमा पुगेर मतदाता शिक्षा दिएको पाइएको छैन । कतिपय सहजकर्ता शहर बजारमा मात्र केन्द्रित रहेको गुनासा उठ्न थालेका छन । सहजकर्ता गाउँका दुरदराजमा पुग्न दुख मानेकै कारण सर्वसाधारण मतदान प्रक्रियाबारे अन्यौल देखिएका छन । कपिलवस्तु नगरपालिका ९ कि अञ्जना केसीलाई अहिले के को निर्वाचन हुँदैछ भन्ने समेत थाहा छैन । उनी भन्छिन्, ‘अहिले के को चुनाव हो मलाई थाहा छैन, मंसिर २१ गते चुनाव हो भन्ने मात्र सुनेको छु ।’
बुद्धभुमि नगरपालिका वडा नम्बर ३ का रमेश खनालले मतदाता शिक्षा दुरदराजमा पुग्न नसकेको बताउँछन । कतिपय दलका कार्यकर्ताले मतदाता शिक्षा गाउँ गाउँ चलाएको उनी बताउँछन । सरकारी तवरबाट मतदाता शिक्षा नपाएकै कारण भोट दिन अन्यौल भएको उनले बताए । “दलका कार्यकर्ताले मतदान प्रक्रिया त सिकाएका छन् तर उनीहरुले आफ्नै चुनाव चिह्नमा मत हाल्न सिकाए उनले भने, अरु पार्टीलाई मत दिदा विग्रने हो कि भन्ने डरमा छु ।”
जिल्लाका प्रत्येक निर्वाचन केन्द्रमा एक जनाका दरले ४ सय १० जना स्वयमसेवक मतदाता शिक्षाका लागि खटाईएको जिल्ला निर्वाचन अधिकृत ज्ञानहरि घिमिरेले बताए । ‘हामीले स्वयमसेवकहरुलाई तालिम दिई प्रत्येक केन्द्रमा पठाएका छौ, मतदाता शिक्षा सबै ठाउँमा पुगेको छ, झिटपुट नपुग्न सक्छ, बुधबार सम्ममा पुग्छ उनले भने ।’ जिल्ला निर्वाचन कार्यालयले गत स्थानीय निकायमा खटिएकै बाल विकास केन्द्रका सहजकर्ता, सामाजिक परिचालक र केही शिक्षकहरुलाई यसपालि पनि परिचालन गरेको छ । यस पटक पनि तिनीहरुले संतोषजनक रुपमा काम गर्ने हो कि नाई त्यसमा आशंका देखिएको दलका नेताहरु बताउँछन ।
मतदान गर्न मतदाताहरुलाई आह्वान गर्ने मतपत्रको किसिम र हाल्ने तरिका सिकाउने, निर्वाचनको प्रचारप्रसार गर्ने प्रमुख जिम्मेवारी सहीत स्वमसेवकलाई मतदाताहरुको घरदैलोमा पठाईएको जिल्ला निर्वाचन अधिकृत घिमिरेले बताए । यस पटक मतदाता शिक्षाका लागि ८० लाख बढी रकम बिनियोजित भएको निर्वाचन कार्यालयले जनाएको छ । गत स्थानीय निकायमा मधेसबादी दलको आन्दोलनका कारण असहज स्थितिले केही कठिनाई भए पनि यस पटक सहज स्थिति रहेकाले स्वयमसेवकहरुले राम्ररी काम गर्ने घिमिरेले दाबी गरे । ‘स्वयमसेवकहरुलाई सम्बन्धित वडाको सचिव र वडाअध्यक्ष संग समन्वय गरी काम गर्न निर्देशन दिएका छौँ, काम नगरी लापवार्ही गर्नेलाई सेवा सुबिधा दिदैनौ’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी मदन भुजेलले मतदाता शिक्षा कार्यक्रमलाई कडाईका साथ सञ्चालन गर्न निर्देशन दिइएको दाबी गरे । जिल्लाका २ सय ३३ स्थानका ४ सय १० केन्द्र छन । जिल्लामा ३ प्रतिनिधि र ६ प्रदेश सभाको सिट छन । जिल्लामा कुल ३ लाख ११ हजार ७६० मतदाता छन ।
१२ सय ३० मतपेटिका प्रयोग
आसन्न निर्वाचनको लागि कपिलवस्तुमा १२ सय ३० मतपेटिका प्रयोग हुने भएका छन । जिल्लामा मतदान स्थल २३३ र मतदान केन्द्र ४ सय १० रहेका छन । प्रत्येक मतदान केन्द्रलाई ३ वटाको दरले मतपेटिका प्रयोग हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानहरि घिमिरेले बताए । ४३ लिटर क्षमताको २ र ५ लिटर क्षमताको एक वटाका दरले प्रत्येक मतदान केन्द्रलाई पठाईएको छ । ३ लिटर क्षमताको मतपेटिका ३ सय र ५ लिटर क्षमताको मतपेटिकामा ६ सय ५० मतपत्र अटाउँछ । यस पटक ४३ लिटर क्षमताको मतपेटिका पहिलो पटक प्रयोग हुँदैछन। कपिलवस्तुमा प्रतिनिधि सभाको ३ र प्रदेश सभाको ६ सिट छन ।
प्रदेश सभाको १ को १ मा सबैभन्दा बढी २ सय ५२ र १ को २ मा २१० मतपेटिका प्रयोग हुनेछन । यस्तै २ को १ मा २ सय १० र २ को २ मा १ सय ९८ मतपेटिका प्रयोग हुनेछन । यस्तै ३ को १ मा १ सय ९५ र ३ को २ मा १ सय ६५ मतपेटिका प्रयोग गरिनेछन । जिल्लामा कुल ३ लाख ११ हजार ७६० मतदाता छन । जसमध्ये पुरुष १ लाख ६९ हजार ४६४ र महिला १ लाख ४२ हजार २९४ मतदाता छन । तेस्रोलिङगि २ जना मतदाता छन ।
सुरक्षाकर्मी ५ हजार ३३७ हजार परिचालन
निर्वाचनमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी गरी कुल ५ हजार ३३७ सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए । निर्वाचनमा म्यादी, २ हजार ४७४, नेपाल प्रहरी १ हजार ४११, सशस्त्र प्रहरी ७ सय ५२ र नेपाली सेना ७ सय जनाले सुरक्षा दिने छन । मतदान स्थल र केन्द्रमा पहिलो घेरामा म्यादी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन । निर्वाचन स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पेट्रोलिन गस्ति समेत गर्नेछ ।

प्रकाशित मिति : २० मंसिर २०७४ बुधबार ००:००  २ : ४१ बजे