८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कपिलवस्तुमा ७० प्रतिशत मतदान, स्थानीय तहमा भन्दा ७ प्रतिशत कम



मायादेवी अनलाइन, कपिलवस्तु, २१ मंसिर ।
स्थानीय तहको निर्वाचनमा भन्दा अहिलेको निर्वाचनमा कपिलवस्तुमा कम मत खसेको छ । आज भएको दोस्रो चरण अन्तरगतको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जिल्लामा ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अधिकृत ज्ञानहरी घिमिरेले जानकारी दिनुभएको छ । उहाँका अनुसार जिल्लाका विभिन्न मतदान स्थल मध्ये सबैभन्दा कम मतदान ६१ प्रतिशत देखि सबैभन्दा बढी ७८ प्रतिशत भएको छ । गत स्थानीय तहको निर्वाचनमा राजपा नेपालले निर्वाचन प्रक्रियामा भाग नलिए पनि ७७ प्रतिशत खत खसेको थियो ।
आज भएको निर्वाचन जिल्लामा शान्ति पूर्वक रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभएको छ । विहान केहि स्थानमा बम राखिएको भएतापनि सुरक्षाकर्मीले डिस्पोज गरेर मतदान प्रक्रियाको वातावरण सहज पारेको प्रजिअ भुजेलले बताउनुभयो ।
मतदान गर्नका लागि जिल्लाबासी विहानै देखि लामबद्ध भएका थिए । जिल्लामा २ सय ३३ मतदान स्थलमा ४ सय १० केन्द्रबाट मतदाताले मतदान गर्ने व्यवस्था मिलाइएको थियो । मतदान केन्द्रहरुको सुरक्षाका लागि करिव ५ हजार ४ सय सुरक्षाकर्मीहरु खटाइको थियो भने मतदान केन्द्रमा ३ हजार २ सय ७९ कर्मचारी खटिएका थिए ।
कुल ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको कपिलवस्तु जिल्लामा ३ लाख ११ हजार ७ सय ६० मतदाता रहेका छन् । प्रतिनिधी सभाको ३ र प्रदेश सभाको ६ निर्वाचन क्षेत्रबाट १ सय ८१ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७४ बिहिबार ००:००  २ : ३६ बजे