८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

रुपन्देहीमा समानुपातिकतर्फ काँग्रेस पहिलो



लुम्बिनी, १ पुष ।
रुपन्देहीमा सम्पन्न समानुपातिक अन्तर्गतको मतगणना अनुसार नेपाली काँग्रेस प्रथम भएको छ । मंसिर २१ गते भएको दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सार्वजनिक गरिँदा प्रतिनिधिसभा अन्तर्गतको समानुपातिकमा काँग्रेस प्रथम भएको छ भने प्रदेशसभामा एमाले प्रथम भएको छ ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सिट पछाडि रहेको काँग्रेस अन्तिम मतपरिणामअनुसार समानुपातिकमा भने पहिलो बनेको छ । जिल्लामा रहेका पाँच निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा जित निकालेको थियो । तीन सिट जितेको नेकपा (एमाले) दोस्रो स्थानमा छ । संघीय समाजवादी फोरमले तेस्रो स्थान सुरक्षित गरेको हो ।
रुपन्देहीलाइ पूर्ण साक्षर जिल्ला घोषणा गरिए पनि त्यहाँ २२ हजार मत बदर भएको छ । मंसिर २१ गते सम्पन्न दोस्रो चरणको निर्वाचनमा जिल्लाभरको तथ्यांक हेर्दा २२ हजार १९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
रुपन्देहीमा मतदाता शिक्षाका लागि ९१ लाख १९ हजार ५०० खर्च भएको थियो । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा निर्वाचन आयोगले देशभर मतदाता शिक्षाका लागि अर्बौं खर्च गरे तापनि खर्चअनुरुपको मतदाता शिक्षा प्रभावकारी देखिन सकेन ।
मतदाता शिक्षा प्रदान गर्न जाने शिक्षकले राम्रोसँग मतदाता शिक्षा दिन नसक्दा मतदाता शिक्षाका लागि खर्चिएको रकम बालुवामा पानी हाले जस्तै भएको छ ।

प्रकाशित मिति : १ पुस २०७४ शनिबार ००:००  १२ : ३० बजे