१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

समुदाय परिवर्तनमा गैससको महत्वपूर्ण योगदान



सीताराम चौधरी, चन्द्रौटा, १ पुष ।
सरकारको आँखा पुग्न नसकेको ठाउँमा गैर सरकारी संस्थाको लगानीले समुदायका मुहार फेरिएको सरोकारवालाहरुले निष्कर्ष निकालेका छन् ।
सेभ द चिल्ड्रेनको सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा संचालित प्रायोजित कार्यक्रमको वार्षिक समिक्षामा सहभागी सरोकारवालाहरुले गैर सरकारी संघसंस्थाहरुको कार्यक्रम समुदाय स्तरमा प्रभावकारी सावित भएको ठहर गरेका हुन् । कालिका स्वावलम्बन सामाजिक केन्द्रले कपिलवस्तुमा शिक्षा, स्वास्थ्यको क्षेत्रमा संचालन गरेको कार्यक्रम प्रभावकारी भएको उनीहरुले औल्याए । कार्यक्रममा सरोकारवालाहरुले जिज्ञासा राख्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझाव समेत दिए ।
कार्यक्रमका प्रमुख अतिथि शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख पूर्णबहादुर विश्वकर्माले पछिल्लो समय गैरसरकारी निकायले संचालन गरेका कार्यक्रमले सरकारलाई समेत ठूलो सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । उहाँले गैरसरकारी निकाय पनि सरकारकै एक अभिन्न अंग भएको बताउँदै सरकारी निकायसँग समन्वय गरी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको जिकिर गर्नुभयो । समुदायको सकारात्मक परिवर्तन ल्याउन आफू सधैं समन्वय र सहकार्यमा जोड दिने उहाँले औल्याउनुभयो ।
कार्यक्रममा सेभ द चिल्ड्रेनकी नरमाया थापाले आफूहरु सरकारको सहयोगी रहेको औल्याउँदै सहकार्य गरी अगाडि बढ्ने बताउनुभयो । यसैगरी कार्यक्रममा कालिका स्वावलम्बन सामाजिक केन्द्रका डाइरेक्टर रामेश्वर सिंह रावलले शिक्षा र स्वास्थ्य नै मानवको नैसर्गिक अधिकार भएकाले यसलाई पहिलो प्राथमिकतामा राखी काम गरेको बताउनुभयो । समिक्षा कार्यक्रममा प्रायोजित कार्यक्रमका संयोजक अजय चौधरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उहाँले कार्यक्रमको प्रभावकारिता र आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन कसरी अगाडि बढ्ने बारे सरोकारवालासँग प्रतिक्रिया लिनुभएको थियो । कालिकाका अध्यक्ष सुन्दर केशब गुप्ताले समुदायको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रमलाई आगामी दिनमा अझ राम्रो बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो ।
समुदायस्तरमा राम्रो पहिचान बनाउन सफल कालिकाले कपिलवस्तुका ३वटा नगरपालिका शिवराज, महराजगञ्ज र कृष्णनगर तथा विजयनगर गाउँपालिकाका साविक २१ वटा गाविसहरुमा मुख्य चारवटा सवालमा काम गर्दै आएको छ । शिक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै शिक्षा अधिकार अन्तर्गत बालविकास, विद्यालय स्वास्थ्य तथा पोषण, किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य र किशोर किशोरी विकासलाई प्रमुख सवालको रुपमा कार्यक्रम गर्दै आएको कार्यक्रम संयोजक अजय चौधरीले बताउनुभयो । एकवर्षमा निर्धारित लक्ष्य तथा कार्यक्रम अन्तर्गत ९५ प्रतिशत कार्यक्रम सम्पन्न गरेको समिक्षात्मक कार्यक्रममा कार्यक्रम संयोजक चौधरीले सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा कार्यक्षेत्र अन्तर्गत स्थानीय निकायका प्रतिनिधि, स्वास्थ्य प्रमुख, शिक्षा शाखा प्रमुख, स्रोतव्यक्ति, विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ पुस २०७४ शनिबार ००:००  १२ : ३७ बजे