१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बिष्टकी आमाले रुदै भनिन्,‘सधै गलामा माला देख्न पाउँ’



शिवलाल सुवेदी, गुल्मी, १ पुष ।

एमाले सचिव गोकर्ण बिष्ट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएको बिहिबार पाँचौ दिन हो । उमेद्वार बनेर जिल्लाको मुसिकोट नगरपालिकाबाट अभियान शुरु गरेका बिष्टले निर्वाचित भएपछि बिजयी सभा धुर्कोट गाउँपालिकाबाट संचालन गरेका थिए । यी दुवै अभियानमा उनले धेरैका आर्शिबाद र माया पाए । त्यसैले पनि उनी दोव्वर मतान्तरले बिजयी बने । जहिले जुनसुकै कार्यक्रम र अभियानमा निस्किए पनि बृद्धबृद्धाको आर्शिबाद थाप्न सौखिन बिष्टको घरमा पनि ८८ बर्षिय बृद्धा आमा छन् ।

उनी जिल्ला आउँदा प्राय आमा नभेटि फर्किदैनन् । छोरासंगै मतदान गरेकी आमालाई छोरो बिजयी बनेको हेर्न र सुन्न हतार थियो । उनलाई बिजयी भएको खबर त्यहि दिन नै परिवारका अन्य सदस्यले सुनाइसकेका थिए । तर पनि आमालाई छोराको रंगिन अनुहार सुमसुम्याउने रहर बाँकी नै थियो । बिहिबार बिजयी बनेपछि इस्मा गाउँपालिकाका विभिन्न स्थानमा खुसी साट्न पुगेका बिष्ट आमा भेट्न घर पुगे । बिजय भएर घर आएको छोरालाई देखेर आमा चिन्ता कुमारी निकै खुसी भइन् ।

गलामा फुलमाला र ओठमा मुस्कान लिएर पुगेका उनले आमालाई भेटे र माला लगाएर ढोगे । छोराले माला लगाएर ढोगेपछि आमाको त्यो खुसी आफ् भित्र अडिएन् ! दुवै हातले आँखा छोपेर रुदै भनिन भनिन,‘बाबु संधै तिम्रो गलामा माला भरिुएको देख्न पाउँ ।’ त्यो दृश्यले संसद बिष्ट मात्र स्तब्ध भएनन, उनीसंगै घरमा पुगेका एक दर्जन बढिको मन थामिएन् ।

धेरै कार्यक्रम संबोधन गर्ने चटारो लिएर हिडेका उनी केहिबेरमै आमासंग बिदा भएर फर्किए । २१ मंसिरमा इस्मा गाउँपालिका ४ स्थित रामराज्य मावि मतदान केन्द्रमा छोरासंगै मतदान गरेकी उनले छोरालाई प्रधानमन्त्री बनेको हेर्न चाहेको प्रतिक्रिया दिएकी थिइन् ।

प्रकाशित मिति : १ पुस २०७४ शनिबार ००:००  १ : ०७ बजे