७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

देउसी भैलोको रकम सामाजिक कार्यमा लगानी



सीताराम चौधरी, चन्द्रौटा, १ पुस ।
कपिलवस्तुको विजयनगर गाउँपालिका डालपुरकी ११ वर्षीय सुनरपति गडरिया अब ट्राइसाइकलको सहाराले स्कूल पुग्ने भएकी छन् । जिल्लाको चन्द्रौटास्थित जस्ट डान्स क्रिउ (जेडीसी) बाट ट्राइसाइकल पाएकी उनी अब सजिलै विद्यालय पुग्ने भएकी हुन् । शारीरिक रुपले अपांगता भएकी गडरिया अभिभावकको सहाराले विद्यालयसम्म पुग्ने गरेकी थिइन् ।
शिव मावि डालपुर कक्षा ५ मा पढ्दै आएकी उनलाई बोकेर स्कूलसम्म पु¥याउने गरेको बुवा रामकुमार गडरियाले बताए । जन्मेदेखि नै उनको दुवै खुट्टाले काम गर्दैन आमा ज्ञानमतिले बताइन् । पहिलो पटक ट्राइसाइकल चढेर स्कूल जान पाउने भएपछि उनमा खुशीको सीमा छैन ।
सुनरपति जस्तै शारीरिक रुपले अपांगता भएकी विजयनगर गाउँपालिका शंकरपुरकी १८ वर्षीय सीता थारु र शिवराज नगरपालिका कुदरबेटवाकी ३५ वर्षीय पुष्पा कोहारले पनि जीवनमै पहिलो पटक ट्राइसाइकलमा चढेर हिँडडुल गर्न पाउने भएपछि निकै खुशी भएका छन् ।
शारीरिक रुपले पूर्ण अपांगता भएका ३ जनालाई जेडीसीले ह्वील चेयर वितरण गरेको थियो । शिवराज नगरपालिका ५, पूर्वरहटकोलकी १७ वर्षे सुमित्रा थारु, शिवराज नपा ५ का ५० वर्षीय गिरबहादुर कुँवर र शिवराज नगरपालिका ११ नयाँबस्तीका ५६ वर्षीय ओमबहादुर नेपालीले ह्वील चेयर पाएका हुन् । जीवनमै पहिलोपटक ह्वील चेयरमा बस्न पाएका उनीहरु निकै हर्षित देखिन्थे ।
यसैगरी विजयनगर गाउँपालिका अमलहवाका टुहुरा बालबालिकाहरुलाई न्यानो कपडा तथा स्टेशनरी वितरण गरिएको थियो । जाडोबाट छल्न एउटै घरका ४ टुहुरा बालबालिकाहरुलाई सिरक, डसना, न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरिएको जेडीसीका संयोजक आशिष थापाले जानकारी दिए । गत बैशाखमा बुवाको शेषपछि आमाले पनि छाडेपछि उनीहरु टुहुरा बनेका हुन् । अहिले १८ वर्षीय रेखा नेपाली र १५ वर्षे उषा नेपाली दुई दिदी बहिनीले पढाइ छाडेर दुई भाइबहिनीको पालनपोषण र शिक्षादिक्षाका लागि जोहो गर्दै आएका छन् । ११ वर्षे पूर्णिमा नेपाली अहिले भुवनेश्वरी मावि जगदीशपुर कक्षा ५ मा पढ्छिन् । भने उनका सबैभन्दा साना भाइ ५ वर्षीय विकास नेपाली भने कक्षा १ मा पढ्दै आएका छन् ।
जस्ट डान्स क्रिउले चन्द्रौटामा एक कार्यक्रमको आयोजना गरी शारिरीक अपाङ्गता भएका व्यक्तिहरुलाई ३ थान ट्राइसाइकल र ३ थान ह्वील चेयर वितरण गरेको हो । दीपावलीको अवसरमा देउसी भैलोको संकलन गरेको रकमबाट सामाजिक काममा लगानी गरेको जेडीसी देउसीभैलो संयोजक दीपेन्द्र पौडेलले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले सानो भैलो खेलेर यति ठूलो सामाजिक कार्य गर्न सफल भएकोमा धन्यबाद दिंदै यसबाट अरुले पनि सिको गर्नुपर्ने वताए । थोरै थोरै रकम संकलन गरेर त्यो रकमलाई सामाजिक कार्यमा लगाउने प्रयास गरेकोमा यो कार्यको प्रशंसा गरे । देउसी भैलो खेलेर मनोरन्जलाई मात्र प्राथमिकता दिनुभन्दा सामाजिक कार्यप्रति लगानी गर्न अधिकारीले जोड दिए । अपाङ्गता भएका व्यक्तिहरुलाई पढ्ने इच्छा हुँदाहँुदै पनि शिक्षाबाट बन्चित बालबालिकाहरु शिक्षाको पहँुचसम्म पुग्ने विश्वास व्यक्त गरे । दिनरात नभनी देउसीभैलो खेलेर थोरै थोरै रकम संकलन गरेर हिड्न नसक्ने व्यक्तिको आँखाको आँशु पुछिदिएको बताए ।
कार्यक्रमको अवसरमा यही मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट कपिलवस्तु क्षेत्र न ३(क) बाट निर्वाचित प्रदेशसभा सदस्य अर्जुन के.सी.लाई सम्मान गरिएको थियो । कार्यक्रमबाट सम्मानित भएका के.सी.ले दिनरात नभनी खेलेको भैलोबाट संकलन गरेर अपाङ्गहरुलाई सहयोग गरेकोमा उदारहणीय कार्य गरेको वताए । देउसीभैलो खेलेर भोजभतेर गर्ने तथा रमाइलो गरेर मात्र खर्च गर्ने परम्परालाई तोडेर समाज विकास र दुःखी गरिवीलाई सहयोग गर्ने नयाँ कार्यको शुरुवात गरेकोमा यसबाट अरुले पनि सिक्नुपर्ने धारणा राखे । आगामी दिनमा दुखी, गरीबी र असहायहरुलाई आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
यस्तै कार्यक्रममा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा, शिवराज नगरपालिका वडा नं. ५ का वडाध्यक्ष अर्जुनबहादुर पाण्डे, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, समाजसेवी गणेश केसी लगायतले जेडीसीले समाजप्रति देखाएको उत्तरदायित्व उदाहरणीय भएको भन्दै खुलेरै प्रशंसा गरेका थिए ।
कला संस्कृतिको जगेर्नाका लागि चन्द्रौटाक्षेत्रका युवायुवतीहरुद्वारा गठित जष्ट डान्स क्रिउ (जेडीसी) ले सामाजिक कार्य गरेर छोटो समयमै चर्चामा आएको छ । दीपावलीको अवसरमा देउसी भैलो खेलेर करीब साढे ४ लाख संकलन भएको रकमबाट सामाजिक कार्यमा लगाएको क्लबका संयोजक आशिष थापाले बताए । उनले आगामी दिनमा समेत यस किसिमको कार्यलाई दिनरन्तरता दिने बताएका छन् ।

 

प्रकाशित मिति : १ पुस २०७४ शनिबार ००:००  १ : ०७ बजे