१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

शनिबार अहिले सम्मकै दर्शकको भिड, १ करोडको कारोवार, ४० हजार दर्शकद्धारा मेला अवलोकन



पार्वती पाण्डे, कपिलवस्तु, २ पुस ।
वुद्धरंगशाला ४ नं. जीतपुरमा नवौं कपिलवस्तु महोत्सव सञ्चालन भैरहेको छ । मंसिर २३ गते देखि सञ्चालन भएको महोत्सवमा दर्शकहरुको भिड बढेको छ । “एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशिलता” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी सञ्चालन गरिएको हो । महोत्सवको आठौं दिन सम्ममा ३ करोड ५० लाखको आर्थिक कारोबार भएको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले बताउनुभयो । महोत्सवको शुरु देखि अहिले सम्म शनिवार निकै राम्रो उपस्थिती भएको उहाँले जानकारी दिनु भयो ।
शनिबार मात्रै १ करोडको कारोवार भएको छ भने ४० हजार दर्शकले मेला अवलोकन गरेको महोत्सवका संयोजक राजकुमार खाँणले बताउनुभयो । बाणगंगा वेलफेयर सोसाइटीले आयोजना गरेको महोत्सवमा ५ करोड बढिको आर्थिक कारोबार हुने र २ लाख दर्शकले मेला अवलोकन गर्ने लक्ष्य राखेको महोत्सवका संयोजक खाँणले बताउनुभयो ।
महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतीले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थियो । शनिवार आधुनिक गायक बद्री पंगेनी, दिनेश काफ्ले, शारदा खनाल, सुरज थापाको बेजोड प्रस्तुतीले दर्शकहरुलाई निकै मनोरञ्जन प्रदान गरेको थियो ।  आइतवार आधुनिक तथा पप गायक नितेज जंग कुवँर डिजेको बेजोड प्रस्तुती रहने संस्कृति तथा मनोरञ्जन संयोजक राजन आलेले बताउनु भयो ।
महोत्सवले युवा उद्यमशिलतालाई विशेष प्राथमिकता राखेको छ भने मनोरञ्जन तर्फ पनि उत्तिकै लोकप्रिय कार्यक्रमहरु संचालन गरिरहेको छ । विशेष गरि साना उद्यम संचालन गरिरहेकाहरुले आफ्नो उत्पादन सहज रुपमा विक्री गर्न महोत्सवलाई उत्सवको रुपमा लिएका छन् भने नव प्रतिभा कलाकारहरुले यसलाई अवसरका रुपमा लिएका छन् ।
महोत्सवका अधिकांश स्टलहरुमा अवलोकनकर्ताहरुलाई अत्यावश्यक पर्ने सामाग्री, युवा उद्यमबाट उत्पादित वस्तु, खाद्यान्न, मनोरञ्जन सामाग्री, सवारी साधनहरु समेत विक्री तथा प्रर्दशनीमा राखिएको छ । मंसिर २३ गते देखि शुरु भएको महोत्वसव पुष ५ गते सम्म चल्ने छ । महोत्सवमा मुख्य आर्कषको रुपमा भुकम्पले ध्वस्त पारेको धरोहराको झल्को दिने गरि नमुना धरोहरा राखिएको छ ।
उक्त धरोहरा हेर्नका लागि दर्शकहरुको भिड लाग्ने गरेको महोत्सवका संयोजक खाँणले बताउनुभयो । महोत्सवमा विभिन्न प्रकारका ३ सय स्टल रहेका छन । महोत्सव हेर्नका लागि जिल्लाको गाउँ गाउँ देखि र छिमेकी जिल्ला अर्घाखाँची, प्युठान, दाङ, वुटवल, नवलपरासी समेतका मानिसहरु मेला हेर्न आएका छन ।

प्रकाशित मिति : २ पुस २०७४ आइतबार ००:००  २ : २९ बजे