७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

शिवराज–२ खुल्ला दिसामुक्त घोषणा



सीताराम चौधरी, चन्द्रौटा, ३ पुस ।
कपिलवस्तु शिवराज नगरपालिका वडा नं. २ लाई एक कार्यक्रमका बीच खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले साबुन पानीले हात धोएर वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेका हुन् ।
वडा भित्र रहेका ८०६ घरधुरीले चर्पी निर्माण र प्रयोग गर्न थालेपछि वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको वडाध्यक्ष रामबहादुर थारुले बताए । सन् २०१७भित्र नेपाललाई पूर्ण खुल्ला दिसामुक्त बनाउने अभियान अन्तर्गत नगरपालिकाभित्रका वडाहरुलाई क्रमशः खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्दै सिंगो नगरलाई नै खुल्ला दिसामुक्त नगर घोषणा गर्ने कार्यक्रम रहेको शिवराज नगरपालिका वास अधिकृत राजेश चौधरीले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले छोटो समयमा नै वडा नंं २ ले खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन सक्नुमा स्थानीय जनताको सरसफाईप्रतिको जागरुकता, स्थानीय जनप्रतिनिधी र सरसफाई प्रतिनिधीहरुको सक्रियताले वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न सम्भव भएको उल्लेख गरे । स्वास्थ रहनको लागि दिसा पिसाब चर्पीमा नै गर्नुपर्ने र चर्पीमा दिसा पिसाब गर्दा बाहिर फोहोर नहुँदा समाज पनि सफा र स्वच्छ बन्ने उद्घोष गरे ।
उनले खुल्ला दिसामुक्त वडा घोषणा भई सकेपछि बाहिर खुल्ला ठाउँमा दिसा पिसाब गर्नेलाई वडा तथा नगरपालिकाबाट उपलब्ध हुने सेवा सुविधाबाट बन्चित गरिने बताए । आफ्नो परिवार र समाजको इज्जतका लागि पनि चर्पीमा नै दिसा पिसाब गर्नु पर्ने उनले औल्याए ।
साथै वडालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्नको लागी अहोरात्र खट्ने वडा अध्यक्ष, वडा सचिव, सरसफाई दुत महादेव पोखरेल, नगर वास प्रमुख राजेश चौधरी लगायत सरसफाई अभियानमा सहभागिता जनाउने सम्पूर्णलाई धन्यबाद समेत दिए । विभिन्न संघ संस्थाका प्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी तथा स्थानीयको सहभागितामा वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

प्रकाशित मिति : ३ पुस २०७४ सोमबार ००:००  १२ : ४४ बजे