७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

माओवादी बैठकको निर्णय, सरकार गठनअघि नै पार्टी एकता



काठमाडौं, ३ पुस ।
नेकपा माओवादी केन्द्रले सरकार गठनभन्दा अगाडि नै नेकपा एमालेसँग पार्टी एकीकरण गर्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न केन्द्रीय कार्यालय बैठकले पार्टी एकतामा विलम्ब गर्न नहुनेमा जोड दिएको हो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी प्रवक्ता पम्फा भुसालले सरकार गठन हुनुभन्दा अगाडि नै पार्टी एकता गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिइन् । “पार्टी एकताको अधार तयार पारेर सरकार गठन प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । यीमध्ये एउटालाई रोकेर अगाडि बढ्न हुँदैन, किनकि जनताले अनुमोदन गरिसके,“ भुसालले भनिन् ।
त्यसैगरी बैठकले समानुपातिकमा पार्टीको मत कम आउनुमा ६० प्रतिशत क्षेत्रमा माओवादीका उमेदवार नै नहुनु भएको निष्कर्ष निकालेको छ । एमाले र माओवादीले गठबन्धन गरेर ६०–४० को भागबण्डा गरेका थिए । यसअनुसार एमालेले ६० प्रतिशत र माओवादीले ४० प्रतिशत क्षेत्रमा आफ्ना उमेदवार उठाएका थिए ।
माओवादी बैठकले राष्ट्रिय सभा गठनको विषयलाई राजनीतिक त्यसलाई राजनीतिक रुपमा नै टुंग्याउनुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति : ३ पुस २०७४ सोमबार ००:००  १२ : ०१ बजे