२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

भारतको दिल्लीबाट युवतीको उद्धार, बिचौलिया प्रहरी नियन्त्रणमा



सीताराम चौधरी, कृष्णनगर, ४ पुस ।
रोजगारीका लागि दिल्ली हुँदै तेस्रो मुलुक जान लागेकी एक नेपाली युवतीको दिल्लीबाट उद्धार गरिएको छ । दिल्ली महिला आयोगको सहयोगमा केआई नेपालका निर्देशक इन्द्रराज भट्टराई सहितको टोलीले युवतीको उद्धार गरेको हो । मेचीनगर झापा घर भएकी ४० वर्षीय युवती धनको प्रलोभनमा परी दिल्ली पुगेकी हुन् । मनिषा शिवाकोटी नाकी महिलाले कुबेतमा रोजगारीका लागि पठाउने बहानामा युवतीलाई दिल्ली पु¥याई नौसाद नामका विचौलियाको जिम्मा लगाएकी थिइन् ।
भारतका विभिन्न सामाजिक संघसंस्थासँगको भेटघाटका क्रममा के.आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले दिल्लीमा अलपत्र परेकी नेपाली युवतीलाई नेपाल फर्काउनुभएको हो । दिल्ली महिला आयोग र के.आई. नेपालले दिल्लीको कमालपुर क्षेत्रमा छापा मारेर पीडित युवतीको उद्धार गर्न सफल भएको केआई नेपाल कपिलवस्तुका संयोजक केशर विश्वकर्माले बताउनुभयो ।
दिल्ली महिला आयोग प्रमुख स्वाती मतियाल र केआई नेपालका कार्यक्रम संयोजक भट्टराईबीच बेचबिखनमा परेका नेपाली महिला तथा बालबालिकाहरुको उद्धार र पुनस्र्थापना कार्यमा सहकार्य गर्ने सहमति भएको विश्वकर्माले जनाउनुभयो ।
नेपाली युवतीलाई बन्धक बनाई राख्ने विचौलिया नौसादलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । रोजगारीको वहानामा दिल्लीमा अन्य नेपाली युवतीहरु पनि यसरी नै वन्धक बनाइएको हुनसक्ने आशंका गरिएको छ । युवतीको उद्धारसँगै दिल्ली महिला आयोगले यस घटनाप्रति गम्भीर भएको जनाएको छ ।
विगतझैं केआईले दुई महिनामा ३ महिला र ३ किशोरीको उद्धार गरी परिवारमा पुनर्मिलन गराएको केआई जिल्ला संयोजक केशर विश्वकर्माले जनाउनुभयो । बेचबिखनको जोखिममा रहेकाहरुको पुनस्र्थापना गरी सीप सिकाई आत्मनिर्भर र पारिवारिक पुनर्मिलन कार्यलाई निरन्तर दिई अभियानलाई अझ प्रभावकारी बनाउने संस्थाका कार्यक्रम निर्देशक भट्टराईले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ४ पुस २०७४ मंगलबार ००:००  १२ : ३८ बजे