२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

पुष्प खेतीबाट बार्षिक लाखौँ आम्दानी



दीपा महत, वाणगंगा, ४ पुस ।
पहाडको शिरमा घर, वरपर पुर्खौ देखि मिलेर बसेको सानो गाउँ, घर छेउछाउ भिरालो बारी, रहनसहन, चालचलन पुरै गाउँले पाराको त्यहि परिवेशमा ढकमक्क फूलेका फूलै फूल । झट्ट हेर्दा कुनै तराईका फाँटमा गन्यमान्यले घरमा शो देखाउन रोपेको फूलको बगैचा जस्तै लाग्छ । तर त्यसो होइन । विगत २५ बर्ष देखि व्यवसायिक पुष्प खेती गर्दै आएका कृषक कमान सिंह दर्लामीको यो व्यवसाय हो । उमेरले ५८ बर्ष नाघेका दर्लामीले कुनै चलनचल्तिमा आएको व्यवसाय गरेका होइनन । सुन्दा अच्चम लाग्ने तर दाम, नाम र इज्जत कमाएरै फूल खेतीबाट दैनिकी चलाउँदै आएका छन ।
तराईको फाँट कटेपछि झण्डै ३० किलोमिटर पहाड उक्लियौँ भने अर्घाखाँची सितगंगा नगरपालिका ठाडाका एक किसानको घरमा फूलै फूलको यस्तै रमणिय दृश्य देख्न देखिन्छ । अर्घाखाँची लगायत कपिलवस्तु, रुपन्देही सम्म पुष्प व्यवसायिका रुपमा नाम कमाएका पुष्प व्यवसायि दर्लामीले यसैबाट दैनिकी चलाउँदै आएका छन ।
पुष्प खेतीबाट मासिक ५ देखि ६ लाख सम्म कमाउने गरेको उनले बताए । सानै उमेर देखि फूलको शोखिन दर्लामीले कुनै बेला यसरी फूलै फूलको खेती गरिएला भन्ने सोचेका पनि थिएनन । ६ सन्तानका बाबु बनेका उनी जागिरको शिलशिलामा भारतका विभिन्न स्थान पुगेका छन भने नेपालमै केही बर्ष शिक्षण पेशा गरेर पनि अनुभव बटुलेका छन । तर सबै पेशा छाडेर पुष्प खेती गरिएला भन्ने नसोचेको उनले अनुभव सुनाउँछन ।
उनले आफ्नो २ रोपनी जग्गामा पुष्प खेती गरेको बताउँछन । बाह्रै महिना जस्तो फूल्ने फूलहरु उनले लगाएका छन । विशेष गरि फूल तिहारमा बढी मात्रामा प्रयोग गर्ने गरिए पनि अघिपछि त्यति प्रयोग गरिदैन । यसको व्यापार पनि मौसमी अनुसार हुन्छ भन्ने धेरैले अनुमान गर्छन तर उनी भन्छन्, ‘बाह्रै महिना मेरो माग बढ्दो छ ।’ आफुले फूल मात्रै उत्पादन नगरेर फूलका विरुवा पनि उत्पादन गर्ने गरेको उनले जनाए । “मैले उत्पादन गरेका फूलका विरुवा ठुला ठुला नर्सरीमा लगाउँछन, उनले भने, माग दैनिक बढ्दो छ ।”
अहिले उनी तिनै फूल लिएर कपिलवस्तु झरेका छन । गत मंसिर २३ गते देखि जारी नवौं कपिलवस्तु महोत्सवमा उनले फूलै फूलको स्टल नै राखेका छन । केही बर्ष यता कपिलवस्तु महोत्सवमा स्टल राख्दै आएका उनले यस बर्ष पनि निरन्तरता दिएका छन । महोत्सव अवलोकन गर्न आउने सर्वसाधारणलाई उनले फूल खेती लगाउने तरिका पनि सिकाउने गरेका छन । कतिले पुष्प व्यवसायि गरेर पनि के हँुदो हो र भनेर प्रश्न तेर्साउछँन उनले भने, ‘तर पनि म उनीहरुलाई बुझाउने प्रयास गर्छु ।’ कतिपयले महोत्सवबाटै आफ्नो घरमा शो को लागि फूलका विरुवा किनेर लैजाने गरेको उनले बताए ।
कृषि तथा पर्यटन महोत्सवमा आयोजकले आफुलाई स्टल ल्याउन आग्रह गरेको कारण स्टल ल्याएको उनले बताए । कपिलवस्तुका विभिन्न स्थानमा लाग्ने महोत्सवमा आफुले स्टल लैजाने योजना रहेको बताए । जीतपुर चारनम्बरमा जारी महोत्सव सकिए पछि चन्द्रौटा, तौलिहवामा लाग्ने महोत्सवमा पनि फूल खेतीको स्टल लैजाने योजना रहेको उनले बताए ।
पुष्प व्यवसायि दर्लामीले लालुपाते, गजेनियाँ, हेसराज, वेगुनिया, जिरेनियम, डगफ्लावर, सयपत्री, टिकुमा, कृष्णकली, सालविया, गोदावरी लगायत दुई दर्जन बढी जातका फूलको लगाउने गरेका छन । सिजन अनुसार बर्षेनी ४ जनालाई रोजगारी पनि दिदै आएको उनी बताउँछन ।

प्रकाशित मिति : ४ पुस २०७४ मंगलबार ००:००  १ : २७ बजे